ड्राइभिङ लाइसेन्सको कार्ड सकिँदा रोकियाे प्रिन्ट, विदेश जानेलाई मात्र वितरण


काठमाडौं – यातायात व्यवस्था विभागले समयमै काम गर्न नसक्दा सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) काे प्रिन्ट रोकिएको छ । टेन्डर प्रक्रियादेखि नै ढिलाइ गरेको विभागले प्रिन्ट कार्ड सकिएपछि मसिन बन्द गरेको छ । हाल अति आवश्यक भएका विदेश जानेहरूलाई मात्र लाइसेन्स उपलब्ध गराइएको छ ।

लाइसेन्स नवीकरण गर्न दिएका र नयाँ लाइसेन्स कुरिरहेका सेवाग्राहीको संख्या सात लाख छ । उनीहरूले राजस्व बुझाइ सकेका छन्, तर सेवा पाएका छैनन् । विगत छ वर्षदेखि विभागले माग अनुसार लाइसेन्स वितरण गर्न सकिरहेको छैन । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू गरिएपछि विभागले काम गर्न नसकेको हो ।

परीक्षा पास गरेका सेवाग्राहीले दुई वर्षसम्म लाइसेन्स कुर्नुपर्ने बाध्यता छ । यसअघि मासप्रिन्टर तीन सिफ्टमा सञ्चालन गरेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको समस्या हल हुने दाबी गरेको विभागले अहिलेसम्म हल गर्न सकिरहेको छैन ।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले फ्रान्सबाट १४ लाखप्रति कार्ड जतिसक्दो छिटो ल्याउन लागिएको जानकारी दिँदै भने, ‘कार्ड आइसक्थ्यो, कोरोना महामारीले गर्दा ढिलाइ भयो । कार्डको नमुना हेरिसकेका छौं । अब बढीमा दुई महिनामा आउनेछ ।’

प्रतिक्रिया