पतिले भूमिगत बनाएकी गायिका विष्णु माझी प्रकरणको सवालः के चहान्छन् सुन्दरमणि?


काठमाडौं– अढाई वर्षअघि चर्चित लोक गायिका विष्णु माझी गुमनाम रहेको र आफ्नो बाबुसँग पनि ११ वर्षदेखि भेट नभएको सतहमा आएपछि उनको खोजीनीति सुरु भयो।

कतिपय सञ्चारमाध्यमले उनका पति सुन्दरमणि अधिकारीले बन्धक बनाएको आशंकामा निरन्तर समाचार प्रकाशन गरे। यसबाट जिल्ला प्रशासन कार्यालय, प्रहरी दबाबमा परेको थियो।

माझी गुमनाम भएको समाचार सार्वजनिक भएपछि २२ पुस २०७५ मा तत्कालिन स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरि निरौलाले आदेश दिए।

निरौलाको निर्देशनपछि तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार लम्सालले माझी परिवारलाई फोन सम्पर्क गरेर उनीहरुलाई प्रशासनमा भौतिक रुपमा उपस्थित गराए।

सिडिओ निरौला र एसपी लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा सँगै उपस्थित भएका थिए।

जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुँदा समेत गायिका माझी टाउकोमा पछ्यौर, मुखमा मास्क, ओभरकोट र कम्बरदेखि खुट्टासम्म छोपिएको लामो स्कर्ट लगाएर पुगेकी थिइन्। उनी सीतिमिति नचिनिने अवस्थामा पुगेकी थिइन्।

कार्यालयभित्र उनको सनाखतका बखत मात्र मास्क खोलिन् र आवरणमा प्रशासनले पहिल्याउन सक्यो।

उपस्थित भएका उनीहरुलाई सामान्य सोधपुछ गरेर छाडिएको थियो। त्यतिबेला पनि सुन्दरमणिसँगै बसेकी गायिका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको एसपी लम्साल सम्झन्छन्।

छलफलका क्रममा सिडिओ निरौलाले किन विष्णुजीलाई मिडियामा सार्वजनिक नगरेको भन्ने प्रश्नमा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएको जवाफ फर्काएका थिए।

राष्ट्रिय कलाकार देशका गहना भएकाले यत्रतत्र माग हुँदा तपाईमाथि बन्धक बनाएको आरोप समेत छ? खास कुरा के हो भन्दा सुन्दरमणिले ‘आफ्नो इच्छा’ हो भन्दै चर्को स्वरमा जवाफ फर्काएका थिए।

बन्धक नै बनाएर कतै कुटपिट त भएको छैन भन्दै त्यतिबेला सिडिओ निरौलाको निर्देशनमा माझीले मुखमा बेरेको पछौरा र मास्क खोल्दा अनुहारमा कुनै चोट, खत भेटिएको थिएन।

पछिल्लो समय उनै गायिकाको नाम पुनः चर्चामा छ। अढाई वर्षपछि फेरि सामाजिक सञ्जालमा सोध्न थालिएको छ,‘विष्णु माझीलाई किन बन्धक बनाएर राखिएको छ? आखिर के चहान्छन् पति सुन्दरमणि?

के साँच्चै गायिका माझीलाई उनका पति सुन्दरमणिले नजरबन्दमा राखेका हुन् त?

सुन्दरमणि सीमित संगीतकारको पहुँचभन्दा बाहिर छैनन्। ति संगीतकारले पनि सुन्दरमणिको अनुमतिमा मात्र विष्णुको स्वरलाई बजारमा ल्याउन सक्छन्।

कतै नजरबन्दमा राखेर विष्णुमाथि अत्याचार त गरेका छैनन्? सशंकित प्रश्नको घेरामा फेरि सुन्दरमणि परेका छन्। कतिपय अधिकारकर्मीको भनाई छ– विष्णु माझीको स्वरमाथि पति सुन्दरमणिको अधिन पनि एउटा शोषण हो। उनको मानव अधिकार हनन् गर्ने प्राधिकार सुन्दरमणिको लक्ष्य बन्नु एउटा सामाजिक अपराध हो।

नम्बर १ लोक गायिका माझी रहस्यपूर्ण र गुमनाम जीवन बाँचिरहँदा प्रश्न उठ्नु स्वभाविक हो। माझीलाई भेट्ने अवसर पाएका एक कलाकार भन्छन्, ‘उनीसँग एउटा मोवाइल पनि छैन। गीत गाउन स्टुडियो धाउनेबाहेक अन्यत्र कुनै सार्वजनिक कार्यक्रममा गएको थाहा पाएको छैन। घरबाट बाहिर निस्किँदा पछ्यौरी र मास्कले अनुहार ढाक्छिन्। स्टुडियोमा छिर्नासाथ पहिले झ्यालको पर्दा लगाउँछिन्, अनि मात्र गाउँछिन्।’

विष्णु कता जाने, कता नजाने, के खाने, के नखाने, कुन गीत गाउने, कुन गीत नगाउने, कोसँग बोल्न पाउने, कोसँग बोल्न नपाउने, गीत गाउँदा कति पारिश्रमिक लिने सबै सुन्दरमणिको लगामअनुसार हुन्छ।

अधिकारकर्मीहरूको प्रश्न छ– मानव अधिकारसहितको सुरक्षण भएको समाजमा यस्तो लगाम अपराध होइन र?

सुन्दरमणिको हातमा रहेको रिमोर्टअनुसार चल्नुपर्ने गायिका माझी साँच्चै समस्यामा रहेको हुनसक्ने माथिको उदाहरणहरुबाट पनि प्रष्ट हुन्छ।

यता सुन्दरमणिलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘उहाँ त्यस्तो मान्छे होइन। तर, मिडियामा आएको खबरहरु पढ्दा सुन्दा अचम्म लाग्छ।’ साँच्चै माझीको भूमिगत जिन्दगीका बारेमा कमैलाई थाहा छ। आखिर विष्णुलाई कसले यस्तो बनायो? मुख्य प्रश्न यही हो।

२१ औं शताब्दीको युगमा हरेक व्यक्ति इन्टरनेटसँग नजिक छन्। तर, गायिका माझीको सामाजिक सञ्जाल छैन। आजसम्म एकचोटि पनि मिडयामा आएकी छैनन् उनी।

सेलिब्रिटी भइकन उनी भूमिगत छिन्।

यति मात्रै होइन, उनले गाएका गीतहरुमा एक दशक पुरानो एउटै तस्बीर प्रयोग भइरहेको हुन्छ। उनको नयाँ तस्बीर समेत पाउन कठिन छ।

काठमाडौंमै बस्छिन् भन्न्ने हल्ला चले पनि उनी कहाँ बस्छिन्, कसैलाई थाहा छैन। थाहा हुनेहरु पनि बताउन चाहँदैनन्। आखिर किन उनको बारेमा थाहा हुने व्यक्तिहरु समेत बोल्न मान्दैनन्?

माझी त्यस्तो गायिका हुन्, उनले गाएको प्रायः सबै गीतहरु हिट हुने गरेको प्रशस्त उदाहरणहरु छन्। गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको छ।

जेलैमा हो जेलैमा, चरी जेलैमा

मै छोरी रुँदै रुँदै बेसी मेलैमा

लोकदोहोरी गायिका माझीको नयाँ तीज गीतको शब्दलहर यो हो।

‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक सञ्जालसम्म चर्चा बटुलिरहेको छ। म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणि अधिकारीको शब्द–संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ।

विवाहित चेलीको वेदना प्रस्तुत गरिएको गीतमा खराब पतिका कारण पर्दामा चेलीले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ। झट्ट हेर्दा यो गीत माझीको जीवनसँगै मेल खाने देखिन्छ।

कर्णप्रिय स्वरकी धनी गायिका माझीको फ्यान फलोइङ भने ठूलो छ। यूट्यूवमा विष्णुका गीतमा कमेन्ट गर्ने धेरैले उनको वास्तविक अवस्थाका बारेमा जिज्ञासा राखिरहेका हुन्छन्। उनलाई मिडियामा आउन फ्यानहरुले निरन्तर आग्रह गरिरहेका छन्।

उनी नेपाली संगीत जगतमा विगत १५–१७ वर्षदेखि सक्रिय छिन्। नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठूलो योगदान छ। उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन्।

उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन्, साथै उनी नेपालमै सबैभन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन्। उनले एउटा गीत गाएवापत दुई लाख रुपैयाँ लिन्छिन् जुन सुन्दरमणिले तय गरेको पारिश्रमिक हो।

को हुन् विष्णु माझी?

स्याङजाको रत्नपुर गाविस–६ चापाकोटमा एक विपन्न परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन्। उनी सानैदेखि लोकगीतको सौखिन थिइन् र स्वर पनि मीठो थियो। विष्णुलाई १३ वर्षको उमेरमा पाल्पा रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन्।

रामपुर र चापाकोट खोला वारिपारि पर्छ, बीचमा झोलुंगे पुल छ। कुरा ०५८ सालको हो। नारायण त्यतिबेला लोकगीत प्रतियोगिताहरुमा भाग लिन्थे र आफैं पनि प्रतियोगिता गराउँथे। त्यसै क्रममा उनले चापाकोटमा एउटा प्रतियोगिता आयोजना गरेका थिए, जसमा भाग लिन आएकी थिइन् विष्णु। उनी प्रतियोगितामा प्रथम भइन्।

सोही प्रतियोगितामा भाग लिन आएका थिए पोखरेली लोकगायक सुन्दरमणि अधिकारी। कास्कीको लेखनाथ नगरपालिकाका बासिन्दा हुन् अधिकारी। त्यतिबेला उनले कुनै पुरस्कार जित्न सकेनन्।

विष्णुको स्वर सुनेर सुन्दरमणि मोहित भए। विभिन्न दोहोरी प्रतियोगिताहरुमा भाग लिँदै आए पनि उनी खासै सफल हुन सकेका थिएनन्। विष्णुसँग जोडी बनाएर गाउन पाए आफू पनि सफल हुन्थेँ भन्ने मोह उनलाई जाग्यो।

नारायणसित उनको पुरानो चिनजान थियो। उनले नारायणलाई आफ्नो आफ्नो इच्छा प्रकट गरे। नारायणले नै विष्णुको परिवारसँग सल्लाह गरेर उनीहरुलाई एक बनाइदिएको लोकगीत क्षेत्रमा चर्चा छ।

करिब ९ वर्ष ‘लिभ इन रिलेसन’ मा बसेपछि विष्णु र सुन्दरमणिले पोखरा लेकसाइडको एक मन्दिरमा सुटुक्क बिहे गरेका थिए। उनीहरुको थोरै आफन्त र सीमित साथीहरु उपस्थित थिए।

बिहेपछि विष्णुलाई लेखनाथ नगरपालिका बेगनासस्थित सुन्दरको घरमा धुमधामसित भित्र्याइएको थियो। मन्दिरमा बिहे गर्दा एक हजार शल्क तिर्नुपर्ने नियम भए पनि सुन्दरमणीले दुई हजार तिरेका थिए। बिहेको तस्वीर अहिलेसम्म सार्वजनिक भएको छैन।

विष्णुलाई जोडी बनाउन पाए आफू पनि सफल हुने सोच बनाएका सुन्दरमणि आफैं मिडियामा आउन चाहँदैनन्। उनले सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीहरुलाई वास्तै गर्दैनन्।

यसरी एउटी महिलालाई साँच्चै नजरबन्दमा राखिएको हो भने सबै सत्यतथ्य कुराहरु बाहिर ल्याउन आवश्यक छ। किन बेलामौकामा मात्र यस्ता कुराहरुले चर्चा पाउने र पछि सेलाउने गर्छ?

प्रतिक्रिया