
सेनाको ‘कम्ब्याट ड्रेस’मै झोलामा एसएमजी बोकेर काठमाडौं आएका थिए गंगाधर!
काठमाडौं – नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्याका अभियुक्त गंगाधर ढकाल हतियार बोकेरै चितवनबाट काठमाडौंसम्म आएको खुलासा अनलाइनन्युजले यसअघिको श्रृंखलामा समाचार प्रकाशित गरिसकेको छ। ढकाल नेपाली सेनाका सिपाही हुन्।
नागढुंगा नाकाबाट मोटरसाइकलमा सवार गंगाधर ढकाल एसएमजी हतियार बोकेरै उपत्यका प्रवेश गर्नुले प्रहरीमाथि प्रश्न खडा भएको छ। ढकाल प्रवेश मात्र गरेनन्, अर्को एकजना साथीको साथमा सोही हतियार बोकेर पुनः सोही नाकाबाट सोही दिन बाहिरिए।
यसरी गंगाधर हतियारसहित काठमाडौं आएको र हतियार बोकेरै काठमाडौंबाट बाहिरिएपछि अनेकन टिकाटिप्पणी हुन थालेको छ। वास्तवमा उनी हतियार बोकेरै काठमाडौं कसरी छिरे? मुख्य प्रश्न यो हो।
हुनतः चेकिङ गर्न नेपाल प्रहरीलाई पर्याप्त स्रोतसधानको पनि कमी छ। सुचनाको भरमा प्रहरीले बेला–बेला ठूलै अपराधिक गिरोहलाई पनि समातेको प्रशस्त उदाहरणहरु छन्। त्यसैले पर्याप्त स्रोतसाधन नाकामा प्रहरीलाई खटाउने हो भने नाकाबाट त्यतिसहजै आपराधिक गिरोहहरुले प्रवेश पाउँदैन्थ्ये होला।
महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले पर्याप्य स्रोतसाधन नहुँदा कुनैबेला यस्तो घटनाहरु हुने गरेको स्वीकार्छन्। ‘राज्यले आवश्यक पर्ने साधनहरु उपलब्ध गराइदिने हो भने आपराधिक घटनाहरुमा कमी आउँछ,’ उनले भने।
ढकाल नेपाली सेनाको कर्मचारी भनेर हतियारसहित काठमाडौं छिरे पो कि? कि उनले नाकामा चेकिङमा रहने प्रहरी कर्मचारीलाई विभिन्न प्रलोभन देखाएर हतियारसहित काठमाडौं पो छिरे? यस्ता अनेकन प्रश्नहरु उब्जिएको बेला अनलाइनन्युजले उनले सहजै काठमाडौं प्रवेश पाउनुको कारण पत्ता लगाएको छ।
यसअघि चितवन अदालतमा गंगाधरले दिएको बयानमा हतियार बोकेरै काठमाडौं गएर भरत गुरुङलाई लिएर फर्किएको बताएका छन्। तर, उनले कसरी हतियारसहित काठमाडौं छिरेको कुरा भने बयानमा खुलाएका छैनन्।
यता चितवन प्रहरीसमक्ष गंगाधरले नेपाली सेनाको कम्ब्याट ड्रेस लगाएर काठमाडौं प्रवेश पाएको बयान दिएका छन्। चितवन प्रहरीको बयानमा गंगाधरले सो कुरा खुलाएका छन्।
‘सादा पोसाकमा जाँदा प्रहरी चेकिङमा परिने डरले सेनाको कम्ब्याट ड्रेस लगाई झोलामा एसएमजी हतियार १ थान, ८ राउन्ड गोली बोकेर घरबाट लु ३३ प ३३२९ नम्बरको मोटरसाइकल चलाएर काठमाडौं गएको हुँ,’ उनले बयानमा भनेका छन्।
कोरोना महामारीका कारण उपत्यका छिर्ने नाकाहरुमा हरेक दिन प्रहरीको चेकिङ हुन्छ। अझ, मुख्य नाकाका रुपमा चिनिएको नागढुंगामा सहजै प्रवेश पाउन कठिन रहेको अवस्थामा गंगाधर हतियारसहित सेनाको कम्ब्याट ड्रेसमा काठमाडौं प्रवेश गरेका रहेछन्।
त्यसो भए नाकाबाट काठमाडौं प्रवेश गर्ने सुरक्षाकर्मीहरुलाई प्रहरीले चेकिङ गर्दैन त? यस विषयमा नागढुंगाका प्रहरी कर्मचारीहरु केही बोलेनन्। सुरक्षाकर्मीको ड्रेस लगाउँदैमा उनीहरुलाई चेकिङ नहुँदोरहेछ भन्ने कुरा गंगाधरको घटनाबाट पनि प्रष्ट हुन्छ।
पछिल्लो समय सुरक्षाकर्मीहरु आफैं अनेकन कारण विवादमा तानिएका हुन्छन्। अझ प्रहरीको चेकिङ फितलो हुन थालेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला यस्तो घटनाले प्रहरी संगठन प्रमुखमाथि प्रश्न उठेको छ।
सुरक्षाकर्मीको ड्रेसमा विभिन्न गिरोहरुले अपराधिक क्रियाकलाप गर्ने गरेको बेलाबखतमा समाचारमा आउने गर्दा पनि नाकामा चेकिङ गर्ने प्रहरीहरुले सुरक्षाकर्मीको ड्रेस लगाउनेलाई सहजै छाडिदिने गरेका छन्।
पछिल्लो समय नागढुंगा नाकामा प्रहरीले सर्वसाधरणहरुलाई मात्र चेकिङ गर्ने गरेको छ। तर, भीआईपी, भीभीआईपी, नेता, मन्त्रीहरु, विभिन्न निकायका पदाधिकारीहरु र सुरक्षाकर्मीहरुलाई चेकिङ नै गर्दैन्। यसो गर्दा झनै आपराधिक घटना बढ्ने गरेको प्रहरीकै भनाइ छ।
०००
गुरुङको ७ साउनमा चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेतनजिकै नहरमा शव फेला परेपछि चितवन प्रहरीले भोलिपल्ट ढकाललाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानको क्रममा समेत ढकालले तीन वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको भनिएको एसएमजीले हिर्काएर गुरूङको हत्या गरेको बयान दिएका थिए।
२, पुस २०७५ मा चितवनको कालीबहादुर गणबाट स्टर्लिङ–९ एमएम एनकेआर १००७९२ नम्बरको एसएमजी हराएको थियो। उक्त हतियार चोरेको अभियोगमा सैनिक अदालतको ६, वैशाख २०७६को आदेशबाट सैनिकद्वय लव गुरूङ र सरोज तामाङले अहिलेसम्म पनि कैद भुक्तान गरिरहेका छन्।
जतिबेला हराएको भनिएको एसएमजी गुरूङका हत्यारा ढकालको साथबाट बरामद भएपछि उनीहरू निर्दोष रहेको भन्दै सेनाले छानबिन समिति गठन गरेर आन्तरिक अनुसन्धान गरिरहेको जनाएको छ।
उक्त हतियार ढकालको साथबाट बरामद भएपछि हतियार चोरीको आरोपमा जेलमा रहेका लबकुमार र सरोजको परिवार न्यायको लागि यतिबेला काठमाडौं आएका छन्।



सुजन पन्त |
