

‘तीज’कै गीतले पून: विवादमा तानिए दुर्गेश, प्रतिष्ठानद्वारा विज्ञप्ति जारी

काठमाडौं – महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै गायक दुर्गेश थापा पून: विवादमा तानिएका छन् । उनको नयाँ तीज गीत ‘ख्यास्स पुतली’ युट्युव रिलिज भएको एकसातामै विवादमा तानिएको हो । आफ्नो अघिल्लो गीत ‘बीच्च बीच्चमा’को चौंथो सिरिजको रुपमा दुर्गेशले यो गीत बजारमा ल्याएका थिए ।
उक्त गीतमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । प्रतिष्ठान अन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’ आपत्तिजनक रहेको भन्दै शब्दहरु फेरबदल गर्न ध्यानाकर्षण गराएको छ ।
पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने भन्दै प्रतिष्ठानले ध्यानाकर्षण भएको जनाएको छ । तर, गायक थापाले आफूले गीत नहटाउने र शब्दहरु फेरबदल गर्ने अडान लिएका छन् ।
जुलाई २३ मा रिलिज भएको उक्त गीत दुर्गेशकै संगीत, शब्द र आवाजमा रेकर्ड भएको हो । युट्युवमा शुक्रबारसम्म ११ लाखभन्दा बढीले यसलाई हेरेका छन् । अघिल्लो वर्ष पनि तीज गीतकै कारणले यनी विवादमा तानिएका थिए ।

