

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं – चीनले कोभिड-१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी हुन् ।
अर्थ मन्त्रालयद्वारा प्रेषित विवरणमा चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।
भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन् ।

