

कोरोना भाइरस संक्रमणमा किन निको हुने दर घट्दैछ र मृतक बढ्दैछन्?

काठमाडौं– विगत १५ दिनयता अर्थात् वैशाख १३ गतेदेखि २७ गतेसम्म दैनिक संक्रमित हुने व्यक्तिहरूको प्रतिशत २७ वैशाखे सोमवार सबैभन्दा बढी पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन विधिबाट कुल १८,४११ जनाको परीक्षण गर्दा ९,२७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।
यसको अर्थ परीक्षण गरिएका प्रत्येक दुई मध्ये एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पाइयो।
कोरोनाभाइरस महामारी शुरू भएयताकै सबैभन्दा धेरै १३९ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सोमबार पुष्टि गरेको थियो।
तर मङ्गलवार त्यसभन्दा पनि धेरै अर्थात् हालसम्मकै सर्वाधिक २२५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्ला केही दिनयता दैनिक संक्रमित हुने व्यक्तिहरूको औसत संख्या आठ हजारभन्दा बढी हुने गरेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांकलाई हेर्दा परीक्षण गराएका मानिसहरूमा संक्रमण दर निरन्तर उकालो लाग्ने क्रममा देखिन्छ।
विगत १५ दिनमा एक लाख २३३ जना नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।
यो अवधिमा कोभिड–१९ सँग सम्बन्धित कारणले थप ६८३ जनाको ज्यान गएको छ। १५ दिनयता दैनिक औसत मृतकको संख्या ४५ जना हुन जान्छ।
वैशाख १३ गते कुल संक्रमितको संख्या ३,०३,५६१ थियो भने वैशाख २७ गते ४,०३,७९४ पुगेको छ।
वैशाख १३ गते २४ घण्टाको अवधिमा ३,५५६ जनामा संक्रमण पुष्टि भएको थियो भने सोही अवधिभित्र सात जनाको मृत्यु भएको थियो।
मन्त्रालयका अनुसार सोही दिन २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको संख्या १२ थियो। त्यो दिन संक्रमण दर १२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
वैशाख १३ गते कुल मृतक संख्या ३,१७६ थियो भने निको हुने दर ९१.५ प्रतिशत रहेको थियो।
त्यसको ठ्याक्कै १५औँ दिन अर्थात् वैशाख २७ गतेको तथ्यांक हेर्दा ९,२७१ जनामा संक्रमण देखियो भने २४ घण्टाको अवधिमा १३९ जनाको मृत्यु भएको पाइयो।
त्यो मितिमा कुल मृतक संख्या ३,८५९ थियो भने निको हुने दर ७६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ।
पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमण व्यापक रूपमा फैलिरहेको तथ्यांकबाट देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्।
‘घरमा बसेका एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण भइरहेको छ जसले गर्दा संक्रमितहरू बढिरहेका छन्’, उनले भने।
संक्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यातका अनुसार नेपालमा पछिल्लो समय देखिएका कोरोनाभाइरसको भेरिअन्टका कारण पनि संक्रमितको संख्या बढेको देखिन्छ।
सरकारी अधिकारीहरूका अनुसार नेपालमा कोरोनाभाइरसका यूके भेरिअन्ट र डबल म्युटन्ट देखिएको पुष्टि भइसकेको छ।
‘पछिल्लो समय देखिएका भाइरसले नित्याउने दर एकदमै बढी छ। त्यो हामीले प्रस्ट रूपमा भन्न सक्छौँ’, प्राध्यापक बस्न्यात थप्छन्।
त्यसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि सहमत छन्।
‘त्योसँगै राजनीतिक दलकै नेताहरू विभिन्न सभा, सम्मेलन तथा सार्वजनिक कार्यक्रमलाई बढावा दिँदा र मानिसहरूले पनि सामाजिक जमघटहरू गरेका कारण संक्रमणमा निकै वृद्धि देखिन पुगेको हो।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल १४ दिनसम्म मानिसहरूको शरीरमा भाइरस ‘लोड’ नै रहने भएकोले अहिले संक्रमणमा कमी नआएको बताउँछन्।
‘यदि निषेधाज्ञामा जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना भएको छ र पर्याप्त परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ भएको छ भने केही दिनपछि संक्रमित हुनेहरूको संख्या कम देखिनसक्छ’, उनले थपे।
विगत १५ दिनकै कुरा गर्ने हो भने संक्रमितहरू निको हुने दर घट्दो क्रममा देखिएको छ भने मृत्यु हुनेहरूको संख्या बढिरहेको पाइएको छ।
पहिलाभन्दा अहिले देखिएको भेरिअन्ट धेरै घातक हुनु पनि मृतकको संख्या बढ्नुको एउटा कारण हुनसक्ने प्राध्यापक बस्न्यात बताउँछन्।
‘तर भाइरस लिथल भएकोले मात्रै नेपालमा मृतक संख्या बढेको भन्न सकिन्न।’
‘बिरामीले अक्सिजन नपाएर हुनसक्छ, निको हुन्छ भनेर रोगले च्यापिसकेपछि अन्तिम क्षणमा अस्पताल पुग्ने भएर हुनसक्छ। यस्ता कन्फाउन्डिङ फ्याक्टरहरूले पनि भूमिका खेलेकन हुन्छन्’, उनले भने।
डा. अनुप बास्तोला पनि कतिपय बिरामीले अस्पतालमा शय्या तथा अक्सिजन पाउन नसक्दा मृत्युसम्बन्धी पछिल्लो अवस्था देखिएको बताउँछन्।
जनस्वास्थ्यविद् डा. मरासिनी पछिल्लो समय मृतकको संख्यामा व्यापक वृद्धि हुनुको अन्य कारण पनि खोज्नुपर्ने सुझाउँछन्।
‘यो डेङ्गी लाग्ने महिना हो, स्क्रब टाइफस लाग्ने महिना हो, कालाजार र जापनिज इन्सेफ्लाइटिस फैलिने महिना हो। डबल इन्फेक्सन भयो कि भन्नेतर्फ ध्यान दिएकै देखिँदैन।’
‘कोरोनाभाइरससँगै ती पनि भए भने त्यसले मृत्युदर उच्च बनाउँछ’, उनी औँल्याउँछन्। बीबीसी

