


मौसम : देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं – आज देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश नम्बर-१, प्रदेश नम्बर-२, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका सुदूरपश्चिम प्रदेश, वाग्मती र प्रदेश-१ का केही भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
आज दिउँसो प्रदेश-१, प्रदेश–२ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणाली, दक्षिण-पूर्व भू-भागनजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यूनचापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम बदली भएको हो । आज काठमाडौं उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

