

लागुऔषध गिरोहः सेतो हिरोइन कारोबारी काइँलीका ५ नाम, दावाले तातो पानी खान मानेनन्
काठमाडौंबाट दुबई ट्रान्जिट पारी पाकिस्तानबाट क्याप्सुल बनाएर भित्रिएको थियो ९० लाखको खैरो हिरोइन

काठमाडौं– १६ चैत (२९ मार्च)मा धादिङ खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा तामाङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईमाफर्त संयुक्त अरब इमिरेट्स (युएई) उडे। युएईको सारजहाँ विमानस्थलमा उत्रिएका दावा २१ चैत (३ अप्रिल)सम्म त्यहिँ होटलमा बसे।
युएई गएको भोलिपल्टै दावा त्यहाँबाट पाकिस्तान जाने योजनामा थिए। विशेष काम छ भन्दै दावालाई धादिङ–३ सेर्तुङ घर भएकी ४५ वर्षीया होनी माया तामाङले पठाएकी थिइन्।े युएई पुग्दासम्म दावालाई कामबारे केही थाहा थिएन। कसैसँग सम्पर्क पनि भएको थिएन।
कामको सिलसिलामा युएई पुगेका दावा काम नहुने जस्तो भएपछि ५ अप्रिलमा नेपाल नै फर्किने योजनामा थिए। तर, ३ अप्रिल साँझ होनीमायाले दावालाई पाकिस्तानी मान्छेको नम्बर पठाइन्। पाकिस्तानी नागरिक र दावाबीच सम्पर्क भयो।
दावालाई पेपर भिषा पठाइयो। अनि एक होटल बुक गरियो। सोही भिषा देखाएर सारजहाँ विमानस्थलबाट दावा पाकिस्तान उडे। ४ अप्रिलमा लाहोर सहर पुगेका दावा पाकिस्तानी नागरिकले बुक गरिदिएको होटलमा बस्न थाले। दावा सोही होटलमा चार दिन बसे।
७ अप्रिलमा लाहोरबाट पाकिस्तानी नागरिकले दावालाई फैसलावाद विमानस्थल पुर्याए। एकदिन उनीहरु त्यहिँ बसे। त्यतिबेलासम्म पाकिस्तानी नागरिकले होनीमायाले गरेको अर्डर तयार गरिसकेका थिए। जुन कुरा दावालाई पहिल्यै थाहा थियो।
८ अप्रिलमा फैसलावाद विमानस्थलनजिकै दावालाई ९४ वटा क्याप्सुल दिइयो। पाकिस्तानी नागरिकले दावालाई निल्न लगाउँछन्। पानीसँगै दावाले ९३ वटा क्याप्सुल निल्छन्। अन्तमा आएर एउटा क्याप्सुल निल्न सक्दैनन्।
फैसलावाद विमानस्थलबाट सोही दिन दावाको टिकट थियो– दुबईको सारजहाँ विमानस्थल हुँदै नेपाल। ९३ वटा क्याप्सुल निलेका दावा सारजहाँ हुँदै नेपाल आउने तयारीमा थिए। ८ अप्रिलमा नेपालमा उत्रिँदै थिए।
दावा नेपाल उत्रिनुभन्दा अगाडि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)लाई एउटा सूचना आइसकेको थियो। त्यसपछि लागूऔषध ओसार्दै गरेको सूचना व्युरोले पाएसँगै उनको प्रतीक्षा गरेर बसेको थियो।
सोही क्रममा पाकिस्तानबाट दुबई हुँदै काठमाडौं उत्रिएका दावालाई अन्ततः ब्यूरोको टोलीले २६ चैतमा नियन्त्रणमा लिन सफल भयो। दावा काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुगेर फर्केका थिए।
त्यसपछि प्रहरीले दावालाई विमानस्थलमै तातो पानी खान दियो। ‘हामीले विमानस्थलमा तातो पानी खान आग्रह गर्दा दावाले मान्नुभएन्,’ ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप चौधरीले बताए।

काइँलीलगायत ५ नाम राखेर प्रहरीलाई हैरान पार्ने गोपी तामाङ
त्यसपछि दावालाई नेपाल प्रहरी अस्पतालमा सिटी स्क्यानको लागि लगिएको एसएसपी चौधरीले बिहीबार आयोजित पत्रकार सम्म्मेलनमा बताए। ‘सिटी स्क्यान गर्दा ठूलो परिणाममा क्याप्सुल आकारमा लागूऔषध बरामद भएको हो,’ चौधरीले भने।
धादिङका ४९ वर्षीय दावालाई पक्राउ गरेपछि सिटी स्क्यान गरिएको थियो। सिटी स्क्यानमा लामाको पेटभित्र खैरो हेरोइन देखेपछि औषधी प्रयोग गरेर निकालिएको थियो। दावाको पेटबाट बरामद खैरो हेरोइन नौ सय ग्राम रहेको चौधरीले बताए।
एसएसपी चौधरीका अनुसार दावाको पेटमा ९३ वटा क्याप्सुल भेटिएको हो। बरामद भएको लागूऔषधको बजारमूल्य अन्दाजी ९० लाख रुपैयाँमाथि पर्ने चौधरीले बताए।
दावा यसअघि पनि लागूऔषध कारोबारका क्रममा पक्राउ परिसकेको चौधरीले बताए। ३० चैत २०६५ सालमा लागूऔषध नियन्त्रण ब्यूरोले सेतो हेरोइनसहित पक्राउ गरेर मुद्दा चलाएको थियो। सोही मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका दावा फेरि उस्तै प्रकरणमा पक्राउ परेका हुन्।
दावासँगै अन्य ३ जनासमेत पक्राउ परेका छन्। घटनामा संलग्न धादिङ सत्यदेवीकी ५९ वर्षीया काइँली, मायाँ, फुलमाया, कालीमाया, देवीमाया भन्न्ने गोपी तामाङ, होनीमाया तामाङ र लमजुङ मस्याङ्दी गाउँपािलका–४ का ५२ वर्षीय बयसबहादुर गुरुङ पक्राउ परेका हुन्।
उनीहरुमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काइँली दुई दशकभन्दा बढी नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा थिइन्। ब्यूरोले प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेकी तामाङलाई पनि पक्राउ गरेको हो।
लागूऔषध कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा संलग्न काइँलीको नाम नेपालमा बरामद हुने हेरोइनमा जोडिँदै आउने गरेको थियो तर प्रहरी सूचीमा उनी जहिल्यै फरार मात्रै दर्ज भइरहन्थिन्।
काइँली करिब ०५२ सालतिर काठमाडौं आएको प्रहरीको अनुमान छ। लेखपढ खासै नभएकी काइँली ठमेलको बाटोमा हस्तकलाका समानहरु बेच्ने गर्थिन्। त्यही क्रममा उनको ‘मुसा’ नाम गरेको नाइजेरियन नागरिकसँग भेट भयो र उसैसँग विवाह गरेर काइँली पनि नाइजेरिया पुगिन्।
मुसा नेपालको बाटोबाट लागूऔषध सेतो हेरोइनको कारोवार गर्ने गिरोहमा आवद्ध थिए। उनैले सामान्य परिवारकी काइँलीलाई पनि सुरुमा पैसाका लागि ठमेलमै लागूऔषध विक्री गर्ने एजेन्ट बनाए। तर, पछि काइँली मुसासँगै नाइजेरिया पुगिन् र उतैबाट लागूऔषधको धन्दा सुरु गरिन्।
ब्यूरोले ०५८ सालतिर सेतो हेरोइनसहित नुवाकोटका याङ लामा नाम गरेको व्यक्तिलाई पक्राउ गरेको थियो। जतिबेला याङले समेत उनै काइँली तामाङको नाम प्रहरीलाई दिए।
सेतो हेरोइनसहित पक्राउ परेका अन्यले पनि सेतो हेरोइन काइँलीमार्फत नै आउने गरेको बताउन थालेपछि प्रहरीले काइँलीलाई मोस्ट वान्टेडको सूचीमा राखेको हो।
त्यसयता पाकिस्तानमा बसेर गाउँका महिला तथा युवाहरुलाई सम्पर्कमा ल्याउने र सेतो हेरोइन ओसारपोसार गर्न लगाउने धन्दा सुरु गरेकी काइँलीलाई पक्राउ गर्न प्रहरीले पटक–पटक प्रयास नगरेको पनि होइन। तर, ब्यूरोले काइँलीलाई पक्राउ गर्न सफल भएको छ।
०६५ सालमै मुद्दा रहेकाले काइँली पुर्पक्षको लागि जेल चलान भएको ब्यूरोले जनाएको छ। काइँलीले नाममा धादिङ र नुवाकोटबाट २ वटा नागरिकता समेत बनाएको खुलेको छ।
पहिलोपटक २२ माघ २०५० मा धादिङबाट जारी गरिएको नागरिकतामा २४ मंसिर २०१८ जन्ममितिे छ। यस्तै २४ कात्तिक २०७० मा नुवाकोटबाट जारी नागरिकतामा १ चैत, २०२२ जन्ममिति उल्लेख छ।
नागरिकता दुईवटा रहेको विषयमा समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेलले जानकारी दिए।

