खुला मञ्चमा रहेको बसपार्क वैशाख १५ देखि हटाइने


काठमाडौं – वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । खुला मञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।

बिहीबार महानगरका प्रमुख ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो । यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ ।

‘टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोंगबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी ‘पिक एण्ड ड्रप’ प्रणालीबाट चल्ने उनले बताए । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ ।

यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्ने उनले बताए । बसपार्क सारेर वैशाख १५ गतेभित्र महानगरले भौतिक संरचना हटाउने छ ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि २०७३ सालमा निश्चित अवधिका लागि भन्दै बसपर्का चलाइएको थियो । तर, काठमाडौं टावर समयमै नबन्दा लामो समयसम्म बसपार्क चल्दै आएको छ ।

प्रतिक्रिया