
प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय गन्तव्यको संगम- बेथानचोक
बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन पाँच गाउँ विकास समिति च्याम्राङबेँशी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङखर्क र भुग्देउ महाँकाल समावेश भएर बनेको बेथानचोक गाउँपालिका १०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । संघिय राजधानी काठमाडौं देखि ४५ किलोमिटर दक्षिणमा रहेको यो गाउँपालिकामा ६ वटा वडा रहेका छन् । गाउँपालिकाको नामाकरण हालको वडा नं ३ स्थित समुद्री सतहबाट ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोक नारायण मन्दिरको नामबाट रहेको हो ।
साविकको च्याम्राङबेँशी गाविस हालको वडा नं १, ढुंखर्क गाविस वडा नं २ र ३, चलाल गणेस्थान गाविस वडा नं ४, च्यासिङखर्क गाविस वडा नं ५ र भुग्देउ महाँकाल गाविस वडा नं ६ हुन् । यो गाउँपालिकाको सिमाना पूर्वमा रोशी गाउँपालिका, पश्चिममा ललितपुरको माहाङ्काल र कोन्ज्योसोम गाउँपालिका र उत्तरमा पनौती र नमोबुद्ध नगर पालिका तथा दक्षिणमा काभ्रेकै खानीखोला गाउँपालिका रहेका छन् ।
प्रमुख पर्यटकिय गन्तब्य नारायणस्थान
किंवदन्ती अनुसार भक्तपुरका राजा भूपतिन्द्र मल्ललाई सपनामा चाँगुनारायणले दर्शन दिदैं भनेः तिम्रो क्षेत्रमा काटमार बढी हुन थालेकोले म बस्न सकिनँ । दक्षिणपट्टि महाभारतको अग्लो लेक छ त्यहीँ गएर बस्न थालेको छु । दर्शन गर्न मन लाग्छ भने त्यहीँ आऊनु । भोलिपल्ट बिहान राजा भूपतिन्द्र मल्लले आफ्ना ज्योतिषहरुलाई सपनाको वृत्तान्त सुनाए । ज्योतिषले जोखना हेरेर ठाउँ पत्ता लगाए ।
त्यसको केही दिन पछि ज्योतिषी र राजा भूपतिन्द्र मल्लको टोली दक्षिणतर्पmको महाभारतको लेकतर्फ लागे । त्यो भ्रमणमा जाँदा राजा घोडा चढेर गएको र घोडा हाल घोरबाँधे भन्ने ठाउँमा बाँधेर राजा र ज्योतिषी पहाडको टुप्पोमा पुगेर नारायणको पूजा गरेको किंवदन्ती छ । घोडा बाँधेर राखेकोे भएको हुनाले त्यस ठाउँलाई घोडाबाँधे भनिन थालियो र पछि अपभ्रँश भएर घोरबाँधे भन्न थालेको स्थानिय भनेर अग्रजहरु भन्नुहुन्छ ।
नारायणथानको धार्मिक महत्व
स्थानीय तामाङ समुदायले शिवजीको बासस्थानका रूपमा बेथानचोकको शिखरमा पूजाअर्चना गर्दै आएका छन् । त्यसैगरि वैष्णव सम्प्रदायका विद्वान आचार्य राघवेन्द्रको सक्रियतामा लक्ष्मीनारायणको मन्दिर निर्माण गरिएपछि बेथानचोकको महिमा तथा महत्व झन बढेको छ । यसबाट के पुष्टि हुन्छ भने शैव र वैष्णव दुवै सम्प्रदायको उत्तिकै आस्थाको केन्द्र हो बेथानचोक नारायणथान ।
फागु पूर्णिमाको दिन यो उच्च स्थानमा रहेको नारायणको मन्दिरमा होली खेल्न जाने युवा युवतीहरुको भिड नै लाग्ने गर्छ । केही वर्षयता विदाको दिन तथा चाडपर्वमा नारायणको दर्शन गर्न विभिन्न धर्ममा आस्था राख्ने तीर्थयात्रीहरूको आवागमन बढ्न थालेको छ ।
कसरी पुग्ने नारायणथान शिखरमा ?
नारायणस्थान पुग्न तीनवटा बाटा छन् । पहिलो ढुंखर्क गेल्डुङबाट पूर्वतर्फ कामीडाँडा हुँदै माथि जाने बाटो छ भने दोस्रो दक्षिणबाट सोला (ग्वा) भञ्ज्याङ नाङ्गेचौर हुँदै जाने बाटो छ । गेल्डुङ बजारबाट ठूलाचौर घोरबाँधे हुँदै शिखर पुग्ने उकालो बाटोमा सिँढीहरू निर्माण गरिएकाले अन्य भन्दा यो बाटो बढी सहज छ । बढीमा चार घन्टाको पैदलयात्रामा नारायणस्थान पुग्न सकिन्छ ।
नारायणस्थान जान गेल्डुङबाट कच्ची सडक पनि निर्माण भएको छ । यो सडक हुँदै जाँदा एक घन्टा भन्दा कम पैदल यात्रा गरे हुन्छ । बेथानचोक ३ स्थित सोला भज्याङ्गबाट दुई घन्टाको पैदल यात्रामा नाङ्गेडाँडा हुँदै नारायणथान पुग्न सकिन्छ । कामीडाँडाबाट चार घन्टाको पैदल यात्रामा माथी पुगिन्छ ।
ललितपुरको फुल्चोकीदेखि पाट्ने भञ्ज्याङ हुँदै बेथानचोक नारायणथान सम्म पदयात्रा गर्न सकिने गरि व्यवस्थित र सुरक्षित पदमार्ग निर्माण सम्पन्न भइसकेको छ । शिखरमै रात बिताउने गरी जान पनि सकिन्छ । बस्नका लागि पाटी निर्माण गरिएको छ । तर खानेकुरा र ओढ्ने ओछ्याउने भने लैजानुपर्छ । शिखरमा रहेका पाटी पौवाहरूमा बिजुलीको व्यवस्था पनि गरिएको छ ।
हिउँद याममा तुवाँलो र गर्मी तथा वर्षायाममा बेलाबेला कुहिरो लाग्ने भएकाले दृश्यावलोकनका लागि जाने पर्यटकहरूले शरद ऋतु (असोज कात्तिक) रोज्नु उपयुक्त हुन्छ । हिमालको दृश्यावलोकन गर्न चाहनेहरूका लागि पुस र माघ महिना उपयुक्त हुन्छ । शिखरबाट तराइ मधेश पनि देख्न सकिन्छ ।
वेथानचोकका अन्य पर्यटकिय गन्तव्यहरु
झरनाको झंकार सुनिने च्याम्राङबेँसीः
च्याम्राङबेँसी बेथानचोक गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । च्याम्राङबँेसीबाट मकवानपुरको फापरबारी पुग्न ३७ किलोमिटर मात्र छ । हिजोआज यहाँका नागरिकहरुले भक्तपुरबाट भन्दा फापरबारीबाट घर बनाउँने इँटा र गाई भैंसीका लागि पराल ल्याउने गर्दछन् ।
यस वडाको बाघेगाउँमा महाङ्काल मन्दिर, झिंगेमा भैरव मन्दिर, च्याम्राङबँेसीमा चक्रेश्वर महादेव मन्दिर र कलाङसिंमा बाघभैरवको मन्दिर प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेका छन् ।
च्याम्राङबेँसी क्षेत्रमा चार वटा झरना छन् । तीन तले झरना १ सय २५ मिटरको उचाइबाट झरेको छ भने अर्को इन्द्रेणी झरना करिब १ सय मिटरको उचाइबाट तल आउँछ । इन्द्रेणीको रङजस्तो सातै वटा रङ देखिने भएकोले यो झरनाको नाम इन्द्रेणी राखिएको स्थानीयहरु बताउनुहुन्छ । त्यस्तै, करिब ८० मिटरको उचाइबाट पानी खसेको झरनालाई रतन झरना भनिन्छ । यस खोलाको नाम नै रतन खोला हो । करिब १ सय ५० मिटरभन्दा अग्लोठाउँबाट झरेको छ्याङ्छ्याङ् छहरा काभ्रे जिल्लामै प्रसिद्ध छ ।
पनौतीबाट ढुंखर्क १३ किलोमिटर र ढुंखर्कबाट १२ किलोमिटर दूरी पार गरेपछि च्याम्राङ्बेँसी पुगिन्छ ।
प्रकृति र संस्कृतिको संगम ढुंखर्कः
राजधानी काठमाडौंबाट ४५ किलोमिटर दक्षिणपूर्वी कोणमा रहेको महाभारत पर्वत शृङ्खलाको काखको अत्यन्त रमणीय डाँडा, थुम्का र सानो लेकाली उपत्यकाको संगम हो ढुंखर्क । समग्र ढुंखर्क क्षेत्रमा अलग–अलग नामका करिब ३० गाउँ टोलहरु रहेका छन् । यो क्षेत्र बेथानचोक गाउँपालिकाको वडा नं २ र ३ मा पर्दछ ।
बेथानचोक २ ढुंखर्कमा मुक्तेश्वर महादेव र कृष्ण मन्दिर रहेका छन् । दुबै मन्दिरमा नियमित पुजा पाठका साथै बेलाबेलामा विभिन्न धार्मिक अनुष्ठानहरु हुने गरेको छ । वडा नं २ बागद्धारमा शिव पार्वतीको प्रसिद्ध गुफा पनि छ । वडा नं ३ मा बुढा थानि महाङ्काल, गैह्रिभन्ज्याङ्गमा बैष्णव सम्प्रदायको मन्दिर श्री लक्ष्मि नारायण मन्दिर र समग्र तिमल्सिना बन्धुको कुल देवता विन्धवासीनीको मन्दिर रहेका छन् । विन्धवासीनी मन्दिरमा वर्षेनी कुलायन पुजाको दिन तिमल्सिनाहरु भेला भएर पुजापाठ गर्छन ।
वडा न २ मुलडाँडामा तामाङ समुदायको धार्मिक स्थल च्योमतान्ते गुम्बा निर्माण गरिएको छ । बेथानचोक गाउँपालिकामा रहेका गुम्वाहरुमा यो सबभन्दा पछिल्लो गुम्वा हो । मुलडाँडा क्षेत्रका तामाङ समुदायको व्यक्तिको निधन हुँदा यहि गुम्वाको नजिक सालिमेथुम्का भन्ने स्थानमा दाहसंस्कार गरिन्छ ।
ऐतिहासिक किंवदन्ति अनुसार च्यासिङखर्क कामीडाँडामा अङ्ग्रेज र गोरखाली फौजबिच भएको युद्ध गोरखाली फौजले जिते पछि उनिहरु बेथानचोकको वडा नम्बर ३ मा गएर बसेका थिए । गोरखाली सेना बसेको कारण आज पनि त्यो ठाउँलाई गोरखाली गाउँ भनिन्छ ।
मन्दिर र गुम्वाको मिलन चलाल गणेस्थानः
बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने चलाल गणेस्थानको नामाकरण परापूर्व कालमा निर्माण भएको गणेशको मन्दिरबाट भएको मानिन्छ । डाँडा गाउँमा रहेको यो मन्दिरमा महादेव र पार्वतीको मूर्ति राखिएको छ । यहि वडाको सलान्दु बगर छत्रेको बासुकी स्थान, कालीदेवी मन्दिर घुम्ति र तिलेश्वर महादेव मन्दिर पाटिखर्क त्यतिकै प्रसिद्ध छन् ।
चलाल गणेशस्थानमा ३ वटा गुम्बाहरु रहेका छन् १) टासी गुम्बा २) स्याङ्ग्दो पाल्की छ्योईलिङ गुम्बा र ३) रियो बुध्द पाल्देन छ्योईलिङ गुम्बा । सबै गुम्बामा लामा गुरुबाट नियमित पूजा पाठ गरिन्छ ।
इतिहास र वर्तमानले चिनाएको च्यासिङखर्कः
महाभारत जङ्गलको काखमा रहेको च्यासिङखर्क बेथानचोक वडा नं ५ मा पर्दछ । च्यासिङखर्कको कामीडाँडामा गोरखाली फौज र अङ्ग्रेज फौजबिच लडाईँ भएको थियो भनेर इतिहासविद भन्छन् । गोरखाली फौजले अङ्ग्रेज फौजलाई हराए पछि अङ्ग्रेज सेनाको टाउको गिँडेर त्यो क्षेत्रमा गाडेको किंवदन्ति पाइन्छ । त्यो ठाउँलाई आज पनि घ्यागर ह्वाङ भनिन्छ । तामाङ भाषामा घ्यागर ह्वाङ भनेको कालो बर्णको विदेशीफौजलाई पुरेको खाल्डो भनेर बुझिन्छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी खुला राजनीतिमा आउनु भन्दा अगाडि यो दलको बैठकहरु च्यासिङखर्क कामीडाँडमा बस्ने गर्थे भनिन्छ । माओवादी लडाकु शिविर समेत कामीडाँडमा राखिएको कारण पनि यो क्षेत्र राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि परिचित छ ।
च्यासिङखर्कमा रहेको कालीदेवी र कपुर महाङ्काल मन्दिरका कारण धार्मिक रुपमा पनि यस क्षेत्रले प्रसिद्धि कमाएको छ । कपुर महाङ्कालको मन्दिर कामीडाँडाबाट एक किलोमिटर माथि अग्लो चुचुरोमा बनाइएको छ । यस डाँडाको चुचुरोमा तामाको निकै अग्लो पिलर गाडिएको छ ।
बेथानचोक वडा न ५ च्यासिङखर्कमा तामाङ समुदायको धार्मिक स्थल टालीसाङ्ग ज्याङ्छुुक र आइताटासी नामक २ वटा गुम्बाहरु रहेका छन् ।
सपना र विपनाले जुराएको नाम भुग्देउ महाँकालः
भुग्देउ महाँकाल बेथानचोक गाउँपालिकाको वडा नम्बर ६ मा पर्दछ । किंवदन्ती अनुसार भुग्देउको शिरमा रहेको फराकिलो चौरमा कपुर महाङ्काल एक रात बास बस्न आएको एक वृद्धाले सपना देखिन् । भोलिपल्ट उक्त स्थानलाई बारेर ढुङ्गाको प्रतिमा बनाई महाङ्कालको पूजा गर्न थालियो र पछि यही मन्दिरको नामबाट महाङ्कालचौर नाम रहन गयो ।
त्यो क्षेत्रलाई महाङ्कालचौरका साथै भुग्देउ पनि भनिन्छ । त्यहाँ रहेको नारायणको मन्दिरमा एकजना नेवार पुजारी थिए रे । उनी दैनिक पूजापछि थाली त्यहीँ छोड्ने र दिउँसो लिन जाने गर्थे रे । एक दिन थाली अचानक गायब भएछ । पुजारी तत्कालै नेवारी भाषामा भुं देऊ, भुं देऊ भन्दै कराउन थालेछन् । नेवारीमा भुं को अर्थ थाल हुन्छ । पछि अपभ्रंश भई यो ठाएँको नाम नै भुग्देउ भएको जनश्रुति छ ।
जडीबुटीको खानी महाभारत जङ्गल
जडीबुटीका लागि बेथानचोक क्षेत्र कति महत्वपूर्ण छ भन्ने कुरा एउटा किंवदन्तीले नै प्रस्ट पार्छ । किंवदन्ती अनुसार त्रेता युगमा बेथानचोकको शिखरमा समान उचाइका तीनवटा थुम्का थिए । रावण सँगको युद्धमा राम मुर्छा परेपछि जडीबुटी खोज्न हनुमान महाभारत लेकतर्फ आए ।
यी तीन वटा मध्ये एउटा थुम्कोमा बसेर हनुमानले भगवान नारायणको नाम जपे । अर्को थुम्कोमा चढेर गजराम भन्दै कुर्ले । त्यसपछि उनलाई थप अलौकिक शक्ति प्राप्त भयो, त्यही शक्तिले उनले बिचको थुम्कोलाई जुरुक्क उचालेर लङ्का पु¥याए । अहिले दुईवटा थुम्का मात्र छन् । एउटा थुम्कोलाई नारायणथान भनिन्छ, अर्को थुम्कोलाई गजराम । यी थुम्का नजिकै फराकिलो समथर जमिन छ । हनुमानले एउटा थुम्को उप्काएर लगेकोले उक्त जमिन समथर भएको हो भनिन्छ ।
किंवदन्ती सही पनि हुनसक्छ, गलत पनि हुन सक्छ तर नारायणथान र गजरामको थुम्को तथा आसपासमा पाइने जडीबुटीमध्ये दुई सयभन्दा बढीको पहिचान भइसकेको छ ।
बेथानचोक गाउँपालिका भित्र पाइने महत्वपूर्ण जडीबुटीहरूमा पाखनबेत, घोरथाप्रे, तिते पिडालु, ठुलो औषधी, सरो, सतुवा, कुखुरीकाँ, लोकता, पाँचऔंले, डुण्डु, साखुले, वन लसुन, बाँदरमुला, वन मुला, जिवन्ती, गाउँ जल, विसफायर, ठूलो ओखतो, कुकुर तरुल, जटामसी, ओखर, भलायो, टिम्बुर, बुकीफूल, गुच्ची च्याउ, रातो च्याउ, सल्लाको खोटो, अल्लो, सिस्नु, लोठसल्ला, ठिंग्रेसल्ला, अर्घौली, झ्याउ, मजिठो, सुगन्धवाल, कुरिलो, चिराइतो, तितेपाती, धसिँगरे, अँगेरी, काउलाको बोक्रा आदि हुन् ।
बेथाञ्चोकमा पाइने पशु–पन्छी
बेथानचोकको उच्च भाग महभारतको जङ्गलमा पाइने जनावरहरुमा घोरल, थार, मृग, भालु, चितुवा, बँदेल, खरायो लगायत हिजोआज बाँदर समेत देखा पर्न थालेका छन् । बाँदरले कृषीबाली नष्ट गर्ने गरेको यहाँका कृषकको गुनासो छ । पन्छीहरुमा डाँफे, मुनाल, च्याखुरा, कालिज, तित्रा, मयूर, प्यूरा, जुरेली, ढुकुर, धोविनी, रानी चरी, लाटोकोसेरो, कलचौडे, चाँचर, मैना–सुगा आदि आदि छन् ।
पर्यटन व्यवसायको संभावना र विकास
बेथानचोक गाउँपालिका काठमाडौं उपत्यकाबाट नजिकै रहेको पर्यटकिय स्थल हो । कम्तिमा दुइ दिन बेथानचोक बसेर यस क्षेत्रको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यसँग रमाउन सकिन्छ। उपत्यकाबाट करिब अढाइ घण्टमा पुग्न सकिने छोटो दुरिको गन्तव्य भएकोले यहाँ रात बस्न नसक्दा पनि दिनभरिमा बेथानचोक नारायणको मन्दिर दर्शन गरेर काठमाडौं फर्कन सकिन्छ ।
पर्यटकका लागि नारायणस्थान र गजरामको थुम्को, बतासेडाँडा, कामीडाँडा, घोरबाँधे, तिनतले झरना आदि उपयुक्त स्थान हुुन । पूर्वदेखि पश्चिम तेर्सिएको महाभारत पर्वत शृङ्खलाको अवलोकन साँच्चै मन बहलाउने किसिमको छ । यहाँका विभिन्न थुम्काको उचाइ चुम्दा, जङ्गल घुम्दा, पद मार्गमा पैदल हिँड्दा र संघर्ष गरेर गुफामा छिर्दाको आनन्द अन्य कुनै घुमफिरले दिँदैन भन्ने लाग्छ ।
जस्तै ३ हजार १८ मिटर उचाइको बेथानचोक नारायणको शिर, ३ हजार १२ मिटर उचाइमा रहेको गजराम थुम्को र २ हजार ३ सय ११ मिटर उचाइको चौवास डाँडामा पुग्दा जो कसैलाई पनि पृथ्वीको सिरमा पुगेका आभाष हुन्छ भने शिव पार्वतीको गुफा छिर्दा पृथ्वी भित्र पसेको अनुभूति हुन्छ ।
महाभारत लेकको सबभन्दा उच्च स्थानमा रहेको बेथानचोक नारायणको मन्दिर धार्मिक पर्यटकको लागि पुग्नै पर्ने गन्तव्य स्थल हो । साथै बेथानचोक गाउँपालिकका सबै वडाहरुमा विभिन्न मठ, मन्दिर र गुम्बाहरु रहेकोले धर्म र संस्कृतिप्रति आस्थावान धार्मिक पर्यटकका लागि सबै वडाहरु त्यतिकै महत्वपूर्ण छन् । यस गाउँपालिका भित्र ६ वटा गुुम्बाहरु समेत रहेका कारण बौद्ध मार्गिका लागि पनि बेथानचोक अत्यन्तै पवित्र स्थल हो ।
शिक्षा र स्वास्थ्यमा पनि बेथानचोक गाउँपालिका अगाडि नै रहेको छ । यो गाउँपालिकामा नमुना माध्यमिक विद्यालय देखि प्राविधिक धारको शिक्षा समेत संचालनमा छ । साथै दुई वटा सामुदायीक सिकाइ केन्द्र, विभिन्न शैक्षिक वाल समूह, जुनियर रेडक्रस, स्काउट आदि समेत नमुना स्तरमा संचालनमा रहेकोले अन्य क्षेत्रका शिक्षक विद्यार्थी नयाँ अनुभव र ज्ञानका लागि बेथानचोक भ्रमण गर्नु उपयुक्त हुन्छ ।
बेथानचोकमै रात बस्नको लागि खानेबस्ने राम्रो सुविधा सहितका होटेल र रिसोर्टहरु सञ्चालनमा छन् । यसका अतिरिक्त कतिपय व्यक्तिले सुविधा सम्पन्न होमस्टे पनि सञ्चालन गरेका छन् । रात बस्ने पर्यटकले स्थानीय खाना घट्टमा पिँधेको मकैको पिठोको ढिँडोसँग सिस्नो, कर्कलो वा सिमसाग जस्ता प्राकृतिक तरकारी खान पाउँछन् ।
बेथानथोकमा विषादि रहित तरकारी उत्पादन गरिन्छ । खुवा, पनिर र घिउ यहाँका प्रमुख दुग्ध जन्य पदार्थ हुन् । दाउराको आगोमा पकाइएको खुवा साँच्चै स्वादिलो छ ।
समग्रमा बेथानचोक धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी गाउँपालिका हो । बेथानचोक बासीको अतिथि सत्कार गर्ने संस्कृति पनि लोभ लाग्दो छ । लामो समय घर, परिवार र कार्यालयको काम छोडेर आन्तरिक पर्यटकको रुपमा टाढा जान नभ्याउनेहरुका लागि यो स्थल साँच्चै मनमोहक, रमणिय र सौन्दर्यपूर्ण छ । कुनै महिनाको शनिवार र आइतवार बेथानचोकलाई छुट्याउँ ।एक पटक त्यस क्षेत्रको भ्रमण गरि प्राकृतिक छटाहरु संग रमाऔं। अस्तु ।



डा. बलराम तिमल्सिना |



