पोखरा विमानस्थलबाट दुबईका लागि नियमित अन्तरराष्ट्रिय उडान सुरु हुने


पोखरा- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन हुने भएको छ।

आगामी असोज ७ गतेदेखि फ्लाई दुबईले दैनिक उडान सुरु गर्ने गरी टिकट बुकिङ खुला गरेको छ। विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय व्यावसायिक उडान सुनिश्चित भएको हो।

यसअघि पोखरा विमानस्थलबाट चीन, भुटानलगायत मुलुकतर्फ चार्टर उडान तथा भारततर्फ आकस्मिक मेडिकल उडान मात्र सञ्चालन हुँदै आएका थिए।

दुबई उडान सुरु भएपछि पोखरा, गण्डकी प्रदेश तथा आसपासका जिल्लाका वैदेशिक रोजगारीमा जाने युवा, उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी तथा अन्य यात्रु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो उपलब्धिलाई पोखराको अन्तरराष्ट्रिय पहिचान विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्। उनका अनुसार यसले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा काठमाडौं केन्द्रित हवाई चाप घटाउन मद्दत गर्नेछ।

होटल सङ्घ नेपालका प्रतिनिधिहरूले नेपाल–यूएईबीच पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तारमा यो उडान सकारात्मक हुने बताएका छन्। पर्यटन व्यवसायीहरूले यसले पोखराको पर्यटन उद्योगलाई नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अब नियमित अन्तरराष्ट्रिय उडान सुरु भएसँगै पोखरा देशको दोस्रो प्रमुख अन्तरराष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा थप स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया