
शेयर बजारमा झिनो सुधार, साढे ३ अर्बको कारोबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार देखिएको छ। नेप्से परिसूचक ०.५५ अङ्कले बढेर २६४२.४० विन्दुमा पुगेर बन्द भएको छ।
बजार परिसूचकमा झिनो वृद्धि देखिए पनि आज कारोबार रकममा भने खासै उत्साह देखिएन। दिनभरिमा ३४८ कम्पनीका ८७ लाख कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब माथिको कारोबार भएको थियो।
नेप्से परिसूचक सकारात्मक रहे पनि आज बजारमा ओरालो लाग्ने कम्पनीको संख्या धेरै छ। कुल कारोबार भएकामध्ये १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १०२ कम्पनीको मूल्य बढेको छ। बाँकी ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर मूल्य १५ प्रतिशतले बढेर ३४५ रुपैयाँ पुगेको छ। दोस्रो धेरै कमाउने इमर्जिङ नेपालको मूल्य ५.४८ प्रतिशतले बढेको छ। आज आईसीएफसी फाइनान्सको डिवेञ्चर सर्वाधिक १५ प्रतिशत तथा अपर लोहोरे हाइड्रोका लगानीकर्ताले १४.९८ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रह्यो। यस कम्पनीको ३१ करोड ६० लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको २२ करोड ४८ लाख र सोलु हाइड्रोपावरको २२ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।



कागजपत्र |
