विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने ६ जना पक्राउ


काठमाडौं-  आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्याङ्जाका ६३ वर्षीय हुमबहादुर कुँवर, सोलुखुम्बुका ३१ वर्षीय लोकेन्द्र बस्नेत, सुनसरीका ४९ वर्षीय तोरणकुमार कार्की, रामेछापका ३७ वर्षीय रविन्द्र खत्री, गोरखाका ४२ वर्षीय निरज गुरुङ तथा पर्साकी ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन्। उनीहरू हाल काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार हुमबहादुर कुँवरले दुई जनालाई बेलायत (युके) पठाइदिने भन्दै ८८ लाख ७० हजार रुपैयाँ असुलेका थिए। त्यसैगरी लोकेन्द्र बस्नेतले हङकङ पठाइदिने आश्वासनमा एक जनाबाट ३ लाख ३० हजार रुपैयाँ, तोरणकुमार कार्कीले सर्बिया पठाइदिने भन्दै एक जनाबाट ६ लाख रुपैयाँ र रविन्द्र खत्रीले बुल्गेरिया पठाइदिने बहानामा एक जनाबाट ३ लाख रुपैयाँ लिएका थिए।

यस्तै निरज गुरुङले आइसल्यान्ड पठाइदिने भन्दै चार जनाबाट ११ लाख ५६ हजार रुपैयाँ र रिन्कु कुमारी रौनियारले सर्बिया पठाइदिने भन्दै चार जनाबाट ६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ।

रकम बुझाएपछि उनीहरू सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरीले हुमबहादुरलाई काठमाडौं महानगरपालिका–१२, लोकेन्द्रलाई काठमाडौं–७ र तोरणकुमारलाई काठमाडौं–४ बाट सोमबार पक्राउ गरेको हो। त्यसैगरी रविन्द्र खत्रीलाई ललितपुरको पुल्चोकबाट र निरज गुरुङलाई काठमाडौं महानगरपालिका–२६ बाट शुक्रबार तथा रिन्कु कुमारी रौनियारलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया