आईजीपी कार्कीमाथि आरोप लगाउने सांसद खगेन्द्र सुनारको ‘विवादित’ आपराधिक यात्रा


काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाउँदै आएका लुम्बिनी प्रदेश, बाँके निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनार आफैं विभिन्न कानुनी विवादमा मुछिएको विवरण सार्वजनिक भएको छ।

सुनारविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर, स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात र विद्युतीय कारोबारसम्बन्धी मुद्दा चलेको विवरणमा उल्लेख छ।

प्राप्त विवरणअनुसार, सुर्खेतमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो। जिल्ला प्रशासन कार्यालय सुर्खेतको आदेशबाट उनलाई रु. ५० हजार धरौटीमा छाडिएको उल्लेख छ।

त्यस्तै, गुर्भाकोट नगरपालिका–६ स्थित मेहेलकुना अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीविरुद्ध ‘स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात’ शीर्षकमा मुद्दा चलेको देखिन्छ। उक्त मुद्दा अदालतमा विचाराधीन रहेको विवरणमा उल्लेख छ।

सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी अर्को मुद्दासमेत काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दर्ता भएको थियो। सामाजिक सञ्जालमा अधिवक्ता मनीषा गौतमलाई अपमानजनक तथा आपत्तिजनक भाषा प्रयोग गरेको आरोपमा उक्त मुद्दा दर्ता भएको विवरणमा उल्लेख छ।

उक्त मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेपछि सुनार अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयान तथा थुनछेक बहसपछि काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनलाई रु. ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

यसरी सार्वजनिक अभिलेखमा देखिएका कानुनी विवादका बीच सांसद सुनारले अहिले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि गम्भीर आरोप लगाउँदै आएका छन्।

यद्यपि, आईजीपीमाथि गम्भीर आरोप लगाउने सांसद सुनारको आफ्नै कानुनी यात्राबारे पनि सार्वजनिक बहस सुरु भएको छ। आरोप प्रमाणित गर्ने जिम्मेवारी आरोप लगाउने पक्षकै हुने भएकाले उनका अभिव्यक्तिमा तथ्य र प्रमाणको विश्वसनीयता महत्वपूर्ण हुने देखिन्छ।

प्रतिक्रिया