
१२ लाखसहित थकाली सञ्चालक लामासहित १५ जना पक्राउ
जुवा अखडा सञ्चालक ‘कमल बुकी’ फरार
काठमाडौं — राजधानी काठमाडौंमा पछिल्लो समय जुवा अखडा सञ्चालन गर्ने समूह सक्रिय हुन थालेको पाइएको छ। प्रहरीले विभिन्न स्थानमा छापा मार्दै जुवा खेलाउने तथा खेल्नेहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँदै आएको छ।
यसैक्रममा दरबारमार्ग प्रहरीले आइतबार राति लैनचौरस्थित मल्ल होटलसँगै रहेको गाउँबेसी थकालीमा छापा मारेको छ। उक्त स्थानमा करिब एक महिनादेखि नियोजित रूपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार छापा मार्ने क्रममा थकालीका सञ्चालक सुजन लामासहित १५ जनालाई करिब १२ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेकामाथि जुवा खेल्ने तथा खेलाउनेसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। लामा यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् ।
उक्त अवसरमा जुवा अखडा सञ्चालक कमल बुकी भनिने कमल भने फरार भएका छन् । उनले एक प्रहरी नायब निरिक्षक (सई)को संरक्षणमा लामाको थकालीमा जुवा खेलाउँदै आएको जनाइए पनि त्यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले अन्य जुवा अखडाहरुमा छापा मार्न लगाउने तर आफूहरुले उक्त थकालीमा जुवा खेलाउने गरेको जनाइएको छ ।
दरबारमार्ग प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि जुवा अखडा सञ्चालनमा संलग्न व्यक्तिहरूको भूमिका र कानुनी जिम्मेवारीका विषयमा थप स्पष्ट हुने प्रहरीले जनाएको छ।
राजधानीका विभिन्न क्षेत्रमा जुवा अखडा सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ।



कागजपत्र |
