२५ अत्यावश्यक सेवामा हड्ताल निषेध


काठमाडौं सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ।

आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त सूचना जारी गरेको हो। निर्णयसँगै सूचीमा समावेश गरिएका सेवाहरूमा हड्ताल तथा सेवा अवरोध गर्न कानुनी रूपमा निषेध गरिएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार जल, स्थल तथा हवाईमार्गबाट यात्री र मालसामान ओसारपसार गर्ने यातायात सेवा, प्रिन्ट तथा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी आपूर्ति, पेट्रोलियम पदार्थको उत्पादन, भण्डारण र वितरण, अस्पताल तथा स्वास्थ्य सेवा, औषधि उत्पादन तथा वितरण, फोहोरमैला व्यवस्थापन, बैंकिङ तथा बीमा सेवा, विद्युत् उत्पादन र वितरणलगायतका क्षेत्रमा हड्ताल गर्न पाइने छैन।

त्यसैगरी दैनिक उपभोग्य वस्तुको आपूर्ति, राहदानी सेवा लगायतका विभिन्न सार्वजनिक सेवाहरूलाई पनि अत्यावश्यक सेवाको सूचीमा समावेश गरिएको छ।

सरकारले पहिलो पटक इन्टरनेट सेवालाई समेत अत्यावश्यक सेवाको सूचीमा राखेको छ। सूचना प्रवाह, डिजिटल सेवा, सार्वजनिक प्रशासन तथा विपद् व्यवस्थापनमा इन्टरनेटको बढ्दो भूमिकालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

सरकारका अनुसार नागरिकको दैनिक जीवन, सार्वजनिक सेवा प्रवाह, सूचना सञ्चार तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित सेवाहरू कुनै पनि परिस्थितिमा अवरुद्ध नहोस् भन्ने उद्देश्यले अत्यावश्यक सेवाको सूची निर्धारण गरिएको हो।

सूचनामा उल्लेखित सेवाहरूमा हड्ताल वा अवरोध सिर्जना गरिए कानुनअनुसार कारबाही हुन सक्ने व्यवस्था रहेको छ।

1_Faar5Tjv9K

2_TklTsXP0VJ

 

3_OkvBLgqJQB

प्रतिक्रिया