६४ वर्षको उमेरमा शहीद बने, अधुरै रह्यो भ्रष्टाचारमुक्त समाजको सपना


धनकुटा- धनकुटाको पाख्रिबास नगरपालिका–१० चुनवाङ फलामेटोलका ६४ वर्षीय छत्रमान कुथुमी (पारुहाङ) राईका लागि देशमा मौलाइरहेको भ्रष्टाचारको अन्त्य भई सुशासनयुक्त राज्य प्रणाली भएको देख्ने ठूलो सपना थियो ।
त्यसैका लागि भएको आन्दोलनमा उनले सहादत मात्र प्राप्त गरेनन्, नयाँ पुस्तालाई भ्रष्टाचारमुक्त समाज निर्माणमा लाग्न प्रेरित गरे ।
वि.सं २०१८ मा जन्मिएर स्थानीय भारती माविमा कक्षा ८ सम्म अध्ययन गरी धरान पब्लिक स्कुलबाट एसएलसी दिएका कुथुमी जीवनपर्यन्त कुशासनको अन्त्य गर्ने अठोटका साथ निरन्तर डटिरहेका ३० वर्षअघि गाउँ छोडेका उनी पछिल्लो समय काठमाडौंमा बसेर भ्रष्टाचारविरुद्धको विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका थिए ।
‘समाजमा व्याप्त बेथिति र भ्रष्टाचार विरुद्ध लड्नुमा उहाँको आक्रोश मात्र नभई एक प्रकारको सङ्घर्ष नै थियो,’ उनका कान्छा भाइ डिम्पल कुथुमी राईले भने ।
भ्रष्टाचारविरुद्धको अभियान भन्नेबित्तिकै आफ्ना सबैकुरा भुलेर हरेक आन्दोलनमा उनी अग्रमोर्चामा उभिन्थे । ६४ वर्षको उमेरमा पनि उनी अन्य युवाभन्दा कम जोसिलो हुनु हुन्थेन ।
‘आफ्नो सबै चिज खर्चेर भ्रष्टाचारविरुद्धको आन्दोलनमा लागेर आफू र परिवारका लागि दाइले केही गर्नुभएन,’ उनले भने ।
आन्दोलनको घोषणासँगै उनी पटक–पटक भ्रष्टाचारको विरुद्ध आन्दोलनमा होमिँदा छातीमा गोली खान पनि आफू तयार रहेको बताएको भाइ डिम्पल सम्झन्छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले उनीभित्र रहेको विद्रोहको आगोलाई झन सल्किने अवसर मिल्यो ।
नभन्दै भदौ २३ गते भएको १८ जनाको गोली लागेर मृत्यु हुनेमा उनी पनि परे । दाजुलगायत जेनजी आ*न्दोलनमा शहीद भएकाले देखेको सपना र बलिदान त्यसै खेर जान नदिन सरकारले उनीहरूको माग पूरा गर्नुपर्ने डिम्पलको माग छ ।
पारिवारिकरूपमा उनको जीवन त्यति सहज नभएको भाइ डिम्पल बताउँछन् । पटकपटक वैवाहिक जीवन असफल भएका कारण उनले चारवटा श्रीमती बिहे गरेका थिए ।
बिहे गरेपछि परिवारमा अपेक्षा हुने र त्यो अपेक्षा पूरा नभएपछि परिवारमा फुट भएकै कारण दाइले धेरै जनासँग बिहे गरेको उनको भनाइ छ । चार श्रीमतीबाट तीन छोरा र तीन छोरी छन् । उनी कान्छी श्रीमती दीपा श्रेष्ठसँग २५ वर्षदेखि काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।
बुबा स्व. बेलबहादुर कुथुमी तथा जेठी आमा कृष्णकुमारी राई र कान्छी आमा रामकुमारी राईका पाँच छोरामध्ये जेठो छोराको रूपमा जन्मिएका कुथुमीले २०५२ सालबाट घर छाडेर बेलाबखत मात्र गाउँ आउने गरेका थिए ।
छत्रमानको निधनको खबरले ८७ वर्षीया आमा रामकुमारीलाई गहिरो शोक परेको छ । बेलाबखत घरमा आएर आफूसँग ठट्यौली र रमाइलो गरिरहने छोराले ‘आमा म प्रधानमन्त्री नभइ तिम्रो प्राण जाँदैन’ भन्ने गरेको र ‘आँ त हुन्छस्’ भनेको याद आमालाई आज पनि ताजै छ ।
‘यसपालि पनि आउँछ होलाजस्तो लागिराख्यो । तर, एकैचोटी लास पो आयो,’ आमा रामकुमारीले भावुक हुँदै भनिन् ।
हाल साइँला छोरा किशोर कुथुमी राईसँग गाउँमै बस्दै आएका आमा कृष्णकुमारीले छोरा मरेर फिर्ता नआए पनि छोराले देखेको सपना पूरा होस् र अरूले यस्तो पीडा भोग्न भपरोस् भन्ने चाहना राख्नुभएको छ ।
जेनजी आ*न्दोलनमा शहीद भएका कुथुमीको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत भदौ ३१ गते जन्मथलो पाख्रिवास नगरपालिका–१० चुङमाङ ल्याएर अन्त्येष्टि गरिएको थियो । छत्रमानलाई सरकारले कात्तिक १८ गते शहीद घोषणा गरेर राहतस्वरूप नगद १५ लाख रकम सहयोग गरेको परिवार स्रोतले जानकारी दिएको छ ।
नियमित घर नआउने श्रीमान् कहाँ गएका भन्ने थाहा नहुने भएकाले अचानक उनको मृत्युको खबरले आफू मर्माहत र छाँगाबाट खसेजस्तो भएको माइली श्रीमती रामकुमारी राईले सुनाइन् ।
देशमा आमूल परिवर्तन भए पनि गाउँ फर्कन्छु भन्ने दाइ कहिल्यै नफर्कने गरी काठको बाकसमा फर्कनु हुँदा परिवार मर्माहत भएको माइला भाइ खण्डमान बताउँछन् ।
परिवर्तनका लागि लागिरहने दाइको परिवारको हाल कुनै दिगो आर्थिक स्रोत नभएकाले राज्यले अभिभावकत्व लिनुपर्ने उनको भनाइ छ । घटनापछि भाउजू र नानीहरू गाउँमा फर्किएकाले दाइको परिवार तथा बच्चाको अध्यापनका लागि सरकारसँग उनको आग्रह छ ।

प्रतिक्रिया