बाँदरबारे ध्रुव राईको अभिव्यक्तिमा सांसद आशिका तामाङको आपत्ति


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसद्मा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरका कारण सर्वसाधारणले दुःख पाएको भन्दै त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्ने बताएका थिए ।

उनले भनेका थिए, “आज पनि धेरै माननीयज्यूहरूले कुराहरू उठाउनुभयो । बाँदर, बदेलहरूले जनतालाई दुःख दिइरहेका छन् । यसको नीति–कार्यक्रम हामीले कस्तो बनाउँदैछौं ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊँ । यदि होइन भने यसले हामीलाई दुःख दिइरहेको छ ।”

राईको उक्त अभिव्यक्तिपछि सांसद तामाङले बैठकमै आपत्ति जनाउँदै त्यो टिप्पणी संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

उनले भनिन्, “उहाँले बाँदरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यो फिर्ता होइन, पूरै काटेर फालिनुपर्छ । उहाँले ‘सलामी दिनुपर्ने’ भन्नुभएको शब्द पनि आपत्तिजनक छ ।”

सांसद तामाङले संसद्मा प्रयोग हुने भाषा संयमित र मर्यादित हुनुपर्नेमा जोड दिँदै यस्ता अभिव्यक्तिले गलत सन्देश जाने बताइन् ।

प्रतिक्रिया