इरानमा पक्राउ परेका अमृत झा अझै थुनामै, परराष्ट्र मन्त्रालयले माग्याे माफी


काठमाडौं- इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा अझै थुनामै रहेको पुष्टि भएको छ । यसअघि उनको रिहाइ भएको भन्ने प्रारम्भिक सूचना गलत सावित भएपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा स्पष्टीकरण दिँदै माफीसमेत मागेको छ ।

मन्त्रालयका अनुसार झा हाल इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दामा रहेका छन् र उनी अझैसम्म रिहा भएका छैनन् । यसअघि १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूतलाई झा रिहा भएको जानकारी दिएका थिए । सोही सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले समेत उनलाई रिहा भएको भन्दै सार्वजनिक विज्ञप्ति जारी गरेको थियो ।

त्यसैअनुसार परराष्ट्रमन्त्रीले सामाजिक सञ्जालमार्फत पनि रिहाइको जानकारी सार्वजनिक गरेका थिए । तर पछिल्लो कूटनीतिक तथा प्रशासनिक पुष्टि पछि उक्त सूचना गलत रहेको स्पष्ट भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झा हाल इरानको बन्दर अब्बासस्थित थुनामा छन् र उनीमाथि अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा मुद्दा चलिरहेको छ । इरानी अदालतले मुद्दासम्बन्धी विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको र प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।

यसैबीच, उनलाई नेपाल फिर्ता ल्याउने प्रयोजनका लागि आवश्यक कागजात तथा प्रमाण संकलनको प्रक्रिया दूतावासमार्फत अघि बढाइएको मन्त्रालयले जनाएको छ । साथै, विचाराधीन मुद्दा भएकाले इरानी कानुनअनुसार निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

यो घटनाले प्रारम्भिक कूटनीतिक सूचनाको आधारमा गरिने सार्वजनिक अभिव्यक्तिमा थप सावधानी अपनाउनुपर्ने आवश्यकता देखाएको छ ।

प्रतिक्रिया