हर्क साम्पाङसहितका सांसदलाई सभामुखको निर्देशन– मर्यादित रूपमा विरोध गर्नू


काठमाडौं-  सभामुख डीपी अर्यालले प्रतिनिधिसभाभित्र पर्चा बोकेर प्रदर्शन गर्ने शैली उपयुक्त नभएको भन्दै सांसदहरूलाई मर्यादित ढंगले विरोध गर्न निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहित केही सांसदले पर्चा लिएर सभामुख अगाडि प्रदर्शन गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।

उनले संसद् लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण थलो भएकाले विरोधका विभिन्न तरिका भए पनि सदनको मर्यादा कायम राखेर मात्रै आफ्ना कुरा राख्नुपर्ने बताए ।

सभामुख अर्यालले भने, “सभामुखको अगाडि पर्चा लिएर प्रदर्शन गर्नुभयो । प्रतिनिधिसभा महत्वपूर्ण थलो हो । विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर मर्यादाभित्र बसेर विरोध गर्नुपर्छ ।”

उनले यसलाई आदेशकै रूपमा लिन सांसदहरूलाई आग्रह गर्दै सदनमा पर्चा देखाएर विरोध गर्ने अभ्यासलाई कानुन वा नियमावलीले अनुमति नदिएको स्पष्ट पारे ।

“मर्यादामा बसेर विरोध गर्नुहुन यसलाई आदेशकै रूपमा लिँदा हुन्छ । पर्चा देखाएर सदनमा विरोध गर्ने कानुन र नियमावली कसैले दिएको छैन,” उनले भने, “आगामी दिनमा मर्यादापूर्वक विरोध गर्नूहोला ।”

यसअघि श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहित केही प्रतिनिधिले विभिन्न माग राख्दै पर्चा बोकेर सभामुखको आसनअगाडि पुगेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया