काभ्रे प्रहरीको सफलताः २७ मुद्दा खेपेका ‘कुख्यात चोर’ प्रहरी कब्जामा

११ पटक जेल पर्दा पनि सुधिएनन्


काभ्रे – जिल्ला प्रहरी काभ्रेले २७ पटकसम्म चोर गरेका कुख्यात चोरलाई पक्राउ गरेको छ । सदरमुकाम धलिखेललगायतका विभिन्न स्थानमा चोरीको घटना बढ्दै गएपछि सक्रिय रहेको काभ्रे प्रहरीले अन्ततः मिहीन अनुसन्धानबाट चोर पत्ता लगाएर पक्राउ गर्न सफल भयो ।

प्रहरीले गत फागुन १८ गते धुलिखेल–७ को एक घरमा चोरी भएपछि परेको उजुरीउपर अनुसन्धान गर्दा काभ्रे प्रहरीको नजरमा कुख्यात चोर कहलिएका सिन्धुपाल्चोक इन्दावती–४ का हेम बहादुर तामाङ नै ठहरायो । अनुसन्धान गर्दा थाहा भयो, उनी यसअघि ११ पटकसम्म चोरीकै मुद्दामा पक्राउ परेका व्यक्ति थिए । जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हालेपछि अपराध अनुसन्धानका ज्ञाता मानिने नेपाल प्रहरीकै उत्कृष्ट अधिकृत एसपी भूपेन्द्र खत्री जब दंग परे, तामाङको वास्तविकता सामान्य जीवनभन्दा चोर जीवन नै धेरै रहेछ ।

अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको विशेष टोलीले हेमबहादुरको सूक्ष्म निगरानी सुरु गरेको थियो। सीसी टीभी फुटेजको सूक्ष्म अध्ययन र हेमबहादुरको हुलिया र चोरीमा प्रयोग भएको मोटरसाइकलमार्फत हेमबहादुरको पहिचान प्रहरीले गरिसकेको थियो। सो क्रममा हेमबहादुरको उपस्थिति काठमाडौं बौद्ध देखियो। महानगरीय प्रहरी वृत्त बौद्धको क्षेत्रमा लुकिछिपी बसेको भन्‍ने गोप्य सूचना पाएपछि काभ्रेबाटै खटिएको प्रहरीको विशेष टोलीले हेमबहादुरलाई पक्राउ गर्‍यो।

हेमबहादुर पक्राउ परेपछि नै उनैमार्फत चोरीमा संलग्‍न भएका थप दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको थियो। उक्त टोलीले चैत १२ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गट्ठाघरबाट सोही स्थानका २७ वर्षीय कर्मा भनिने कर्म तामाङ पक्राउ परे भने त्यसको चार दिनपछि चैत १६ गते सोही स्थानका ३२ वर्षीय राजकुमार भनिने बेलबहादुर नकर्मी पक्राउ परे। प्रहरीले दुई थान मोटरसाइकल, सवारी चालक अनुमतिपत्र र मोबाइलसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका तीनै जना पटके चोर रहेको अनुसन्धानबाट खुल्न गएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध र चोरीका २७ वटासम्म मुद्दा लागेको पाइएको एसपी खत्रीले बताए। ११ वटा चोरीको घटनामा मुद्दा चलेका हेमबहादुरको पहिचान भएपछि झस्किएको प्रहरी २७ वटा चोरीको घरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति पक्राउ परेपछि झनै चकित परेको थियो। पक्राउ परेका बेलबहादुर नकर्मीमाथि चोरीका २७ वटा मुद्दा परेको प्रहरीले जनाएको छ ।

उनीहरुको चोरीको सिलसिला २०७१ सालबाट सुरु भएको प्रहरीको रेकर्ड छ। सुरुमा २०७१ भदौ १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले हेमबहादुरसहित आठ जनालाई लागुऔषधसहित पक्राउ गरेको थियो। त्यसबेला लागुऔषध मुद्दामा उनीहरुविरुद्ध कारबाही भएको थियो। त्यसपछि भने यो समूह चोरीलाई नै पेसा बनाएर चोरी गर्दै आएको पाइएको एसपी खत्रीले बताए।

उपत्यकामा घट्ने अधिकांश चोरीका घटनामा संलग्न रहने उनीहरु प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका चोर रहेको पनि खत्रीले बताए । काठमाडौं उपत्यकामा कुनै ठूलो चोरी हुनेबित्तिकै प्रहरीले उनीहरुलाई अनुसन्धानमा तान्‍ने गरेको छ। यो समूहको चोरी गर्ने शैली भने दिउँसोमात्रै छ। दिउँसो घरमा मान्छे नभएको वा अफिस भएको मौका छोपेर उनीहरुले घरमा भएका नगद तथा महँगा गरगहना चोरी गर्ने गर्दछन् ।

उनीहरु तीन जना यसअघि पनि पटक–पटक एउटै चोरीको केसमा पक्राउ परेका व्यक्ति हुन्। चोरीको कसुरमा पटक(पटक पक्राउ पर्ने तर जहिल्यै सामान्य धरौटी र थोरै समय जेल बसेर उनीहरु छुट्दै आएका थिए। पछिल्लो समय भने गत वर्षको माघमा चोरीको आरोपमा पक्राउ परेर छुटेको पाइएको छ।

दर्जनौं चोरीका घटनाहरुमा संलग्न रहँदै आएका यीनीहरु निकै धनाढ्य जस्ता देखिने एसपी खत्री बताउँछन् । खत्री भन्छन्, ‘उनीहरुले लगाउने ज्याकेट मात्रै ७/८ हजार र १०/१२ हजार पर्ने जुत्ता लगाउँछन् ।’ तर उनीहरुको पारिवारिक पृष्ठभूमि भने त्यति सम्पन्न देखिँदैन । प्रहरीले अनुसन्धानबाट उनीहरुले चोरीपछि आएको अधिकांश रकम खानपान र लवाईखवाईमै सकाउने गर्दछन् ।

चोरी गरेकै पैसाले उनीहरुले मोटरसाइकल किन्‍नेदेखि गेष्टहाउसमा मस्ती गरेर बिताउने गरेका छन्। चोरी गरेकै भोलिपल्ट उनीहरुले सुनका गहना बेचेर हालै मात्र एउटा नयाँ मोटरसाइकलसमेत किनेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया