

नक्कली प्रमाणपत्रधारी शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं- सर्लाहीको बरहथवा नगरपालिकास्थित श्री चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले सो विद्यालयमा कार्यरत शिक्षक पवन कुमार बुढाथोकीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले रौतहटको महेन्द्र माध्यमिक विद्यालय चन्द्रपुरमा निम्न माध्यमिक शिक्षक तृतिय पदको नियुक्ति लिने बेलामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन् ।
उनका अनुसार बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९ बमोजिम र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको छ ।

