प्रहरीद्वारा फरार डाका नाइके २७ वर्षपछि पक्राउ


कञ्चनपुर – डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका सुनारलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

नेपाल भारत सीमा क्षेत्रमा भारतीयको सहयोग लिई विसं २०३२ देखि सुनारले विभिन्न डकैतीका घटनामा संलग्न रहँदै आएका थिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार सुनार विसं २०४४, विसं २०४८ र विसं २०५० का डकैतीका बारदातमा संलग्न रहेका थिए । सुनार डकैतीको कार्यमा संलग्न नाइकेका रुपमा रहेका थिए ।

प्रतिक्रिया