कर्णालीमा २४ घण्टाभित्र तीन मन्त्रीले राजीनामा दिने


काठमाडौं – एमाले संसदीय दलको बैठकले नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा मागसँगै प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फिर्ता बोलाउने निर्णय गरेको छ।

कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दलका रुपमा रहेको एमालेले प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको हो। संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा आइतबार बसेको बैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी थिए।

‘तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन दलले निर्देशन दिएको छ। त्यो निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनुभएको छ,’ एक सांसदले भने।

माओवादी केन्द्रका संसदीय दलका नेता शाही नेतृत्वको सरकारमा एमालेबाट प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल सामेल छन्। सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला, सामाजिक विकास मन्त्री रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको नेतृत्व बुढाले सम्हालेका छन्।

एमालेभित्र विवाद बढेसँगै ओली पक्षले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने खनाल–माधव पक्षले प्रदेश सरकारप्रतिको समर्थन कायम राख्ने निर्णय गरेको थियो।

तर, पछिल्लो समय एमालेको खनाल–नेपाल पक्षले समेत पार्टीको निर्णयअनुसार चल्ने निर्णय गरेपछि प्रदेश सरकार संकटमा परेको हो। एमालेले समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा शाही नेतृत्वको सरकार स्वतः अल्पमतमा पर्दछ।

नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले मुख्यमन्त्री शाहीलाई अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरेको छ।

बैठकले दलको विधान निर्माणको लागि समिति बनाएको छ। बैठकले गुलाबजंग शाहको संयोजकत्वमा करवीर शाही र मिना रखाल सदस्य रहेको विधान मस्यौदा समिति गठन गरेको हो।

सो समितिले चैत २४ गते बस्ने संसदीय दलको बैठकमा मस्यौदा पेश गर्नेछ। आजको बैठकमा संसदीय दलको अर्को बैठक २४ गते दिउँसो एक बजे बस्ने सहमति समेत भएको छ।

प्रतिक्रिया