प्रधानमन्त्रीको राजीनामा माग गर्दै सरकार बनाउन अग्रसरता लिने काँग्रेसको निर्णय


काठमाडौँ  – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।

शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा कुरा नमिल्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक झण्डै ६ घण्टापछि साँझ ८ बजेपछि मात्र सुरु भएको हो ।

फागुन २८ गते बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकमा पनि आफ्नो नेतृत्व सरकार बनाउन अग्रसरता लिने सहमति भएको थियो । २८ गतेको सहमतिलाई आजको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको देखिन्छ ।

योबीचमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग काँग्रेसले विभिन्न चरणमा छलफल गरेको थियो । तर तीन दलबीच गठबन्धन निर्माणका विषयमा अहिलेसम्म ठोस सहमति हुन सकेको छैन ।

 

प्रतिक्रिया