एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने दुर्गेश थापाको घोषणा


काठमाडाैं- गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरी गायक थापाले भाइबहिनीहरूको पढाइमा असर पर्ने सक्ने भन्दै एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका हुन् । यस वर्षको एसईई परीक्षा ७ चैतदेखि सुरु हुँदै छ । गायक थापाले एसईई दिन लागेका सबै भाइबहिनीहरूलाई शुभकामना पनि दिएका छन् ।

‘शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबै जनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो,’ उनले भनेका छन् ।

गायक थापाले एसईई परीक्षा अवधिमा सञ्चालन हुने कार्यक्रमका लागि निम्तो नदिन पनि भनेका छन् । ‘एसईई अवधिभर सञ्चालन हुने कार्यक्रमका लागि मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहन्छु ।’

प्रतिक्रिया