खाता रोक्का र फुकुवा सम्बन्धी विनियमावली, २०८१ कार्यान्वयनमा


काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का र फुकुवा गर्ने प्रक्रिया स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउने भन्दै ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।

गत जेठमा मस्यौदा सार्वजनिक गर्दै राय-सुझाव पेस गर्न आह्वान गरेको केन्द्रीय बैंकले १३ भदौको सञ्चालक समिति निर्णयबाट विनियमावली स्वीकृत गरेको हो ।

प्राकृतिक व्यक्तिको खाता रोक्का गर्नुपरे खाता रोक्का गर्न अधिकार प्राप्त अधिकारीले कानुनको व्यवस्था स्पष्ट उल्लेख गरी राष्ट्र बैंकले तोकेको बेहोरा खुलाइ राष्ट्र बैंकमा लिखित अनुरोध गर्नुपर्ने छ । त्यसपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई खाता रोक्का गर्न निर्देशन दिने छ ।

प्राकृतिक व्यक्तिको खाता रोक्का गर्नुपर्दा खाता रोक्का गर्नुको स्पष्ट कारण सहित खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीन पुस्ते विवरण समेत चाहिने प्रस्ताव गरिएको छ ।

यस्तै कानुनी व्यक्तिको खाता रोक्नुपर्ने भए खाता रोक्का गर्नुको स्पष्ट कारण तथा फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

कुनै निश्चित खातामात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको नम्बर र खाता रहेको बैंकको विवरण चाहिने विनियमावलीमा उल्लेख छ । साथै, आशिंक खाता रोक्का राख्नुपर्ने भए रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण उल्लेख गर्नुपर्ने विनियमावलीमा छ ।

प्रचलित कानुनमा खाता रोक्का गर्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको अवस्थामा वा अधिकार प्राप्त अधिकारी बाहेक अन्य व्यक्तिबाट आएका पत्रका आधारमा खाता रोक्कासम्बन्धी प्रक्रिया अघि बढाउन राष्ट्र बैंक बाध्य नहुने विनियमावलीमा उल्लेख छ ।

प्रतिक्रिया