जर्नेल भिनाजुले सैनिक ‘कू’ गर्दै हसिनालाई गरे देश निकाला !


काठमाडाैं- यतिबेला बंगलादेश हिंसाको आगोमा जलिरहेको छ । हिंसाकाबीच स्थिति निकै नाजुक बनेको छ । हजारौं मानिसहरुले सडकमा उत्रिएर सरकारी सम्पत्तिमा आगो लगाएका छन् । यसैबीच सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको विशेष हेलिकप्टरमा भारतको शरणमा गएकी छिन् ।

राजधानी ढाकामा ठूलो संख्यामा मार्च पास गरेका हजारौँ प्रदर्शनकारी प्रधानमन्त्रीको सरकारी निवासतिर आएको खबर पाएपछि प्रधानमन्त्री हसिना बहिनीसहित सुरक्षित भारत गएकी हुन् । प्रधानमन्त्री बाहिरिएसँगै सेनाले पनि प्रदर्शनकारी समक्ष अघोषित आत्मसमर्पण गरेको थियो । त्यसपछि हजारौंको संख्यामा प्रदर्शनकारी पर्खाल नाघेर प्रधानमन्त्री निवास गणभवनभित्र छिरेका थिए । उनीहरुले त्यहाँ लुटपाट गरेका थिए ।

यति मात्र होइन, प्रदर्शनकारीले बंगलादेशका निर्माता तथा शेख हसिनाका पिता बंगबन्धु शेख मुजिबुर रहमानको सालिक पनि तोडफोड गरेका थिए ।

हसिनाको बहिर्गमनसँगै बंगलादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ । बंगलादेशको सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको शासनकालको अन्त्य भएपछि अहिले त्यहाँ सेनाले सत्ता हातमा लिइसकेको छ ।

अहिले त्यहाँका सेनाप्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गरिने बताएका छन् । सोमबार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् । उनले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।

यसैबीच बंगलादेशको प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेदले आफ्नी आमाको राजीनितिक पुनरागमन सम्भव नभएको बताएका छन् । वाजेदले अब आमा आफ्ना नातिनातिनाहरूसँग समय बिताउने र राजनीतिमा नफर्कने बताइरहेका छन् ।

को हुन् हसिना ?
सन् १९४७ सेप्टेम्बर २८ मा जन्मिएकी हसिना बंगलादेशकी दशौं प्रधानमन्त्री हुन् । उनी सन् १९९६ जुनदेखि जुलाई २००१ सम्म पहिलो पटक प्रधानमन्त्री भइन् । उनी २००९ देखि निरन्तर प्रधानमन्त्री थिइन् । उनी बंगलादेशका संस्थापक नेता र यसका पहिलो राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन् ।

उनलाई बंगलादेशको सबैभन्दा ठूलो प्रधानमन्त्री बन्ने व्यक्तिको रूपमा पनि चिनिन्छ । उनी विश्वको सबैभन्दा ठूलो सरकार चलाउने पहिलो सरकार प्रमुख पनि हुन् । हसिना टाइम म्यागजिनको १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । त्यस्तै, फोर्ब्स पत्रिकाले उनलाई विश्वका १०० शक्तिशाली महिलाको सूचीमा पनि समावेश गरेको थियो ।

उनी सुरुमा सन् १९९६ जुनमा भएको निर्वाचनपछि प्रधानमन्त्री भएकी थिइन् । सन् २००१ मा जिया संगसँग पराजित भएपछि उनले सन्यास लिइन् । त्यो सरकार बंगलादेशको स्वतन्त्रता पछिको पहिलो पूर्णकालिक सरकार थियो । सन् २००६ देखि २००८ सम्मको राजनीतिक सङ्कटका बेला हसिनालाई फिरौतीको आरोपमा पक्राउ गरी जेल पठाइएको थियो ।

उनले फेरि सन् २००८ मा चुनाव जितिन् । उनले सन् २०१८ को चुनाव पनि जितेकी थिइन् । तर, हिंसाका बीच चुनाव भएकोले चुनाव धाँधली भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

सेनाले बनाउनेछ अन्तरिम सरकार
बंगलादेशमा कैयौँपटक सैन्य ‘कू’ भएको थियो । सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य ‘कू’ भएको थियो । हिजो पनि शेख हसिना देश छाडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले अब सेनाले अन्तरिम सरकार बनाउने बताएका थिए ।

त्यसअघि सेनाले हसिनालाई राजीनामा दिन ४५ मिनेट मात्र दिएको थियो । त्यसपछि उनले हतारमा राष्ट्रपति मोहम्मद शाहबुद्दीनलाई राजीनामा बुझाएकी थिइन् ।

बंगलादेशमा कहिले र किन सुरु भयो आन्दोलन ?
बंगलादेशमा सरकारले सन् २०१८ मा विभिन्न समुदायलाई दिइएको ५६ प्रतिशत आरक्षण खारेज गरेको थियो । त्यो वर्षको जुन ५ मा ढाका उच्च अदालतले सरकारको निर्णयलाई खारेज गर्दै आरक्षण पुनः लागू ग¥यो । यसपछि देशभर हिंसात्मक प्रदर्शन सुरु भयो, जसमा १५० भन्दा बढीले ज्यान गुमाएका थिए ।

तर, २१ जुलाई २०२४ मा सर्वोच्च अदालतले उच्च अदालतको निर्णय परिवर्तन गर्यो र आरक्षण सीमा छट प्रतिशत बाट ७ प्रतिशतमा घटायो । यसमा स्वतन्त्रता सेनानीका परिवारका लागि ५ प्रतिशत (जुन पहिले ३० प्रतिशत थियो) र २ प्रतिशत जातीय अल्पसंख्यक, तेस्रोलिङ्गी र अपाङ्गता भएका परिवारका लागि तोकिएको थियो ।

सर्वोच्च अदालतले ९३ प्रतिशत रोजगारी योग्यताका आधारमा दिने बताएको थियो । ७ प्रतिशत जनसङ्ख्याले मात्र आरक्षणको लाभ पाउनेछन् । त्यसपछि आन्दोलन सुस्त हुन थाल्यो । त्यसपछि प्रदर्शन सुस्त हुन थाल्यो ।

फेरि किन हिंसात्मक बने आन्दोलनकारी ?
उच्च अदालतको फैसलापछि आन्दोलनको नेतृत्व गरिरहेका ६ जनालाई प्रहरी अनुसन्धानले सुरक्षित राख्ने नाममा ६ दिन हिरासतमा राखेको थियो । जसमध्ये नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजुमदार घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको थियो । अनुसन्धान शाखाका अधिकारीहरूले तीनै जनालाई अस्पतालबाट उठाए ।

उनीहरुलाई आन्दोलन फिर्ता लिन जबरनस्ती भिडियो बनाउन लगाइएको थियो । आन्दोलनरत नेताहरु जेलमा रहेका बेला गृहमन्त्री असदुज्जमान कमलले ती व्यक्तिहरुले स्वेच्छाले आन्दोलन अन्त्य गर्ने कुरा गरेको दाबी गरेका थिए । तर, आन्दोलनकारीलाई छाडेर पूरै घटना बाहिर आएपछि आन्दोलनकारीको आक्रोश झन् चर्कियो । त्यसपछिदेखि नै आन्दोलनकारीहरुले प्रधानमन्त्री शेख हसिनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने, पदबाट राजीनामा दिनुपर्ने र पक्राउ परेका आन्दोलनकारीलाई तुरुन्त रिहा गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए ।

पुनः आन्दोलन सुरुभएयता बंगलादेश विगत एक महिनादेखि हिंसाको आगोमा जलिरहेको थियो । शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । प्रहरीले गोली चलाउनुका साथै राजमार्ग र सरकारी सम्पत्तिमा क्षति पु¥याउने विद्यार्थीमाथि अश्रुग्यास प्रहार गरिरहेको थियो । त्यसक्रममा ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् ।

पाचौंपटक प्रधानमन्त्री बनेकी थिइन् हसिना
७६ वर्षीय शेख हसिनाले यसै वर्ष जनवरीमा लगातार पाँचौ पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । जनवरीमा भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले ३०० संसदीय सिटमध्ये २०४ सिट जित्यो भने हसिनाले लगातार आठौं पटक चुनाव जितिन् ।

शेख हसिनाले सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्रीको रूपमा पहिलो पटक सपथ लिएकी थिइन् र आफ्नो पाँच वर्षे कार्यकाल पनि पूरा गरिन् । सन् २००१ को आम चुनावमा जनताले शेख हसिनालाई सत्ताबाट हटाए । तर २००८ मा, उनी ठूलो बहुमतका साथ सत्तामा फर्किइन् । उनले सन् २००९ मा प्रधानमन्त्रीको सपथ लिएकी थिइन् ।

२०१४ मा जनताले उनीमाथि फेरि विश्वास गरे र उनी प्रधानमन्त्री भइन् । उनी २०१८ मा फेरि विजयी भइन् र चौथो पटक देशको प्रधानमन्त्री बनिन् । उनले यो वर्ष पाँचौं पटक सपथ लिएका थिइन् । हसिनाको पार्टीले संसदमा झण्डै तीन चौथाई सिट जितेको थियो । बाँकी सिट विपक्षी दलले पाएका थिए ।

बुवाले बनाएको देश छोडेर भागिन्
बंगलादेशका जनताले पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजिबुर रहमानलाई राष्ट्रपिताको रुपमा मान्छन् । मुजिबुर रहमानले भारतको सहयोग लिएर बंगलादेशलाई पाकिस्तानबाट मुक्त गराएका थिए । त्यसैले भारतमा मुजिबुर रहमानलाई बंगबन्धु भनिन्छ ।

बंगलादेश अलग्गै देश बनेपछि त्यहाँको अवस्था राम्रो थिएन । त्योबेला उनका बुबा मुजिबुर रहमानले शेख हसिनालाई भारतमा राखेका थिए । त्यसैले शेख हसिनाको बाल्यकालदेखिको सम्पूर्ण शिक्षा भारतमा भएको थियो । सोही कारण शेख हसिनाको भारतसँग लामो सम्बन्ध छ । आफ्नो ज्यान जोगाउन बंगलादेशबाट भागेपछि हसिना पहिलोपटक भारततिर लागिन् ।

हसिनाका बुवासहित परिवारका १७ जनाको हत्या
शेख हसिना आफ्नो परिवारकी जेठी छोरी हुन् । दिल्लीबाट ढाका फर्किएपछि उनी विद्यार्थी नेताका रूपमा राजनीतिमा प्रवेश गरिन् । जनताबाट प्रशंसा पाएपछि हसिनाले आफ्नो बुवाको अवामी लिगको विद्यार्थी संगठनको नेतृत्व लिइन् । सन् १९६८ मा हसिनाले भौतिकशास्त्री एमए वाजेद मियाँसँग विवाह गरेकी थिइन् । उनीहरुको एक छोरा सजिब वाजेद र छोरी साइमा वाजेद छन् ।

सन् १९७५ मा सेनाले विद्रोह गरेर हसिनाको परिवारविरुद्ध मोर्चा खोल्दा हसिनाले पार्टीको जिम्मेवारी सम्हालेको केही दिन मात्रै भएको थियो । त्यो दिन शेख हसिनाले आफ्नो बुवा मात्र नभई आमा र भाइसहित परिवारका १७ सदस्यलाई पनि गुमाइन् । हसिना, उनका श्रीमान् वाजिद मियाँ र कान्छी बहिनी रेहाना विदेशमा भएकाले बाँचेका थिए ।

आफ्नो बुवा र परिवारका सदस्यको हत्या हुँदा हसिना जर्मनीमा थिइन् । भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीसँग हसिनाको राम्रो सम्बन्ध थियो । सोही कारण इन्दिरा गान्धीले हसिनालाई भारत निम्तो दिइन् र त्यसपछि हरिना केही वर्ष दिल्लीमा बसिन् । उनी सन् १९८१ मा आफ्नो मातृभूमि बंगलादेश फर्किइन् । त्यहाँ हसिनाले फेरि आफ्नो पार्टीको जिम्मेवारी सम्हालिन् । आफ्नो कार्यकालमा हसिनाले पार्टीमा धेरै परिवर्तन गरिन् ।

२००४ मा उनीमाथि ग्रेनेड हमला भएको थियो । जसमा उनी नराम्ररी घाइते भइन् । यस आक्रमणमा दुई दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए ।

उनले २००८–२००९ को हिंसात्मक प्रदर्शनपछि आजको अवस्थाको सामना गर्नु परेको थियो । तर, हसिनाले हरेक चुनौती पार गरेर सत्तामा फर्किइन् ।

सैनिक ‘कू’ गर्दै हसिनालाई देश निकाला गरिएको हो ?
सन् २०११ मा पनि बंगलादेशमा आन्दोलन भएको थियो । त्यसपछि प्रदर्शनकारीले ‘शेख हसिनालाई हटाऊ, देशलाई भारतको कठपुतली बन्नबाट बचाऊ’ जस्ता नारा लगाएका थिए ।

अहिले केही महिनाअघि ३०० सिटमध्ये २०४ सिट जितेको पार्टीका नेताले आन्दोलनपछि यसरी देश छाड्नुपरेको छ । देश छाडेको दुई घन्टापछि त्यहाँका सेना प्रमुख वकार–उज–जमानले सञ्चारमाध्यममा त्यहाँ आन्दोलन नभइ क्रान्ति भएको बताएका थिए । उनले भनेका थिए, ‘देशमा शान्ति ल्याउछौँ । हामी नागरिकलाई हिंसा रोक्न आग्रह गर्दछौं । पछिल्ला केही सातामा भएका हत्याको छानबिन गर्नेछौं ।’ उनको त्यस्तो बयानले त्यहाँको आन्दोलनको पछाडि सेनाको हात रहेको स्पष्ट भएको बताइन थालेको छ ।

बंगलादेशका सेना प्रमुख जमानले शेख हसिनाको राजीनामाको घोषणा गरेका छैनन् । उनले सैन्य कारबाही गरेको संकेत गरेका छन् । सेना प्रमुख शेख भिनाजु हुन् । उनले शेखकी काकीबहिनी सरहनाज कमलिका रहमानसँग विवाह गरेका थिए । सेना प्रमुख वकारका ससुरा र शेख हसिनाका काकाको नाम मुस्तफिजु हो । जसले २४ डिसेम्बर १९९७ देखि २३ डिसेम्बर २००० सम्म बंगलादेश सेना प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

हालका सेना प्रमुख वकार–उज–जमानले जून २०२४ मा सेना प्रमुखको पद ग्रहण गरेका थिए ।

 

 

 

प्रतिक्रिया