
अमेरिकाको मिसाैरीमा विमान दुर्घटना, पाइलटसहित विमानमा सवार सबै १२ जनाको मृत्यु
मिसौरी – अमेरिकाको मिसौरी राज्यमा एक स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा ११ जना स्काईडाइभर र एक जना पाइलट रहेका छन्।
बोट्स काउन्टी आपतकालीन व्यवस्थापनका प्रवक्ताका अनुसार एक स्काईडाइभिङ कम्पनीले भाडामा लिएको उक्त विमानले आइतबार स्थानीय समयअनुसार बिहान करिब ११:२० बजे उडान भरेको थियो। उडान भरेलगत्तै पर्याप्त उचाइ लिन नसकेपछि विमानले देब्रेतिर तीव्र मोड लिएको र बट्लर मेमोरियल विमानस्थलबाट करिब दुई सय यार्ड टाढा दुर्घटनाग्रस्त भएको प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन्। विमानमा सवार सबै १२ जनाकै घटनास्थलमै मृत्यु भएको उनले पुष्टि गरे।
बोट्स काउन्टीका शेरिफ चाड एन्डरसनले दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा यस घटनालाई ठुलो संख्यामा मानवीय क्षति भएको एक दुःखद दुर्घटनाका रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए। शेरिफले यो कुनै व्यावसायिक यात्रुबाहक विमान नभएर स्थानीय विमानस्थलबाटै उडान भरेको एउटा स्थानीय विमान मात्र रहेको स्पष्ट पारे। संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार उक्त विमान ‘प्यासिफिक एरोस्पेस पी७५०’ मोडलको थियो र विमानस्थलबाट प्रस्थान गर्ने क्रममै दुर्घटनामा परेको हो।
दुर्घटनाको समयमा विमानलाई कुनै हवाई ट्राफिक सेवा उपलब्ध नगराइएको एफएएले जनाएको छ। प्रवक्ताका अनुसार विमान जुन हवाई क्षेत्रमा उडिरहेको थियो, त्यहाँको नियमअनुसार उडानका क्रममा निरन्तर सञ्चार सम्पर्कमा रहिरहनु आवश्यक पर्दैनथ्यो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटना हुनुभन्दा अगाडि कोही स्काईडाइभरले विमानबाट हामफाल्न सफल भए कि भनेर उद्धारकर्मीहरूले वरपरको क्षेत्रमा खोजीसमेत गरेका थिए। शेरिफ एन्डरसनका अनुसार मृतकका केही परिवारका सदस्यहरूले यो भयानक दुर्घटना आफ्नै आँखा अगाडि देखेका थिए। अधिकारीहरूले हालसम्म मृतकहरूको पहिचान र व्यक्तिगत विवरण सार्वजनिक गरेका छैनन्।
दुर्घटना भएको बट्लर सहर कान्सास सिटी महानगरीय क्षेत्रबाट करिब ५० माइल दक्षिणमा पर्दछ। संघीय उड्डयन प्राधिकरणका अनुसार यस विमान दुर्घटनाको मुख्य अनुसन्धानको नेतृत्व राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले गरिरहेको छ।



कागजपत्र |
