नेपाली इतिहासको भयानक ‘एयर क्र्यास’, १६७ ज्यान लिने विमान कसरी ठोक्कियाे भट्टेडाँडामा ?
काठमाडौं– पाकिस्तानको कराँचीबाट ‘पाकिस्तान इन्टरनेशनल एयरलाइन्स–२६८’ विमान नेपालको राजधानी काठमाडौंतर्फ आइरहेको थियो । कराँचीबाट ढाई घण्टा लाग्ने उक्त फ्लाइट समुद्री सतहबाट २ हजार ६ सय फिट उचाइमा रहेको काठमाडौं आउँदै गरेको थियो ।
हिमाल चढ्न तथा घुम्न आउने पर्यटकले काठमाडौं अवतरण गर्नुपर्ने भएकाले उक्त विमानमा ब्रिटेन डेक ह्यामिस पनि थिए । ब्रिटेनमा माउन्टेनिरिङको कोर्ष सिकाउने उनी असाध्यै अनुभवी पर्वतारोही थिए । उनी संसारकै अग्लो हिमालमध्येको अन्नपूर्णमा चढ्न आउँदै थिए ।
विमानको ककपिटमा ४९ वर्षीय क्याप्टेन इफ्तिखार जञ्जुआ थिए । उनीसँग १३ हजार १९२ घण्टा उडान गरेको अनुभव थियो । पाकिस्तानी एयसफोर्सका पूर्व अधिकारी रहेका उनीसँग विमानको कमाण्ड थियो । उनी पाकिस्तान इन्टरनेशनल एयरलाइन्समा सिनियर फ्लाइङ प्रशिक्षकसमेत रहेका थिए ।
विमानको फस्ट अफिसर यानिकी कोपाइलटको रुपमा ३८ वर्षीय हसन अख्तर थिए । उनीसँग ५ हजार ८४९ घण्टा उडानको अनुभव थियो ।
मनसुन सकिनेबेला भएकाले उक्त विमानलाई बादलले उडानमा बाधा पुर्याइरहेको थियो । काठमाडौं ल्याण्ड गर्न केही समय बाँकी रहेका बेला उनीहरुको ट्र्याक बादलले छेक्यो । सोही कारण क्याप्टेन इफ्तिखारले एयर ट्राफिक कन्ट्रोललाई १८ देखि २८ किलोमिटरसम्मको ट्र्याक परिवर्तन गरिरहेको जानकारी गराएका थिए । साथै ककपिटबाट यात्रुहरुलाई बादलका कारण केही झट्का लाग्न सक्ने भन्दै सिटपेटी बाँध्न पनि भनिएको थियो ।
त्योबेला फस्ट अफिसरले क्याप्टेन इफ्तिखारलाई कमाण्ड सम्हाल्न दिएका थिए । त्यसपछि फ्लाइट २६८ बिस्तारै आफ्नो उचाई घटाउदै काठमाडौंतर्फ उडिरहेको थियो ।
त्योबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंले विमानलाई ट्र्याक गर्न रडारको प्रयोग गर्दैनथ्यो । त्यसकारण एयरक्राफ्ट र एयर ट्राफिक कन्ट्रोलर(टावर)ले कुराकानीबाटै योजनाबारे जानकारी आदानप्रदान गर्ने गरेका थिए ।
पहाडले घेरिएका कारण काठमाडौंमा अवतरण गर्दा विमानका पाइलटले ‘स्टेप्ड एप्रोच’ अर्थात् विमानस्थलमा ल्याण्ड गर्नुअघि फ्लाइटलाई विस्तारै विस्तारै तल झार्नुपर्छ । सो बेला एयर ट्राफिक कन्ट्रोलरले दक्षीणतर्फबाट ‘सियारा एप्रोच’ अनुसार अवतरण गर्न भनेका थिए ।
काठमाडौं विमानस्थल पुग्न ३० किलोमिटर बाँकी रहदा पाइलटले ११ हजार ५ सय फिटको उचाईंमा रहेको भन्दै एयर ट्राफिक कन्ट्रोलरमा जानकारी गराए । जसअनुसार उनीहरु ६ मिनेटभित्रै ल्याण्ड हुनुपर्ने थियो । उनीहरुलाई १० किलोमिटर टाढा रहँदा एयर ट्राफिक कन्ट्रोलरले रनवे २ मा ल्याण्ड गर्न भनेको थियो । तर, एक्कासी एयर ट्राफिक कन्ट्रोलर र एयरक्राफ्टबीचको सम्पर्क टुट्यो ।
एयरक्राफ्टबाट ३ मिनेटसम्म कुनै रिपार्ट नआएपछि ट्राफिक कन्ट्रोलरले फ्टाइट–२६८ कतै क्र्यास भइसकेको अनुमान लगायोे । त्यसको एक घण्टामै ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान ध्वस्त भएको अवस्थामा फेला पर्यो । विमान पहाडमा ठोक्किएको र त्यसमा सवार सबै १६७ जनाको मृत्यु भइसकेको खबर आइरहेका थिए ।
१९९२ सेप्टेम्भर २८ अर्थात् २०४९ असोज १२ गते भएको उक्त भयानक दुर्घटना नेपाली भूमिमा भएको सबैभन्दा ठुलो ‘एयरक्र्यास हो’ । जसमा परेर १२ जना ‘क्रू मेम्बर’सहित १६७ जनाको ज्यान गएको थियो । त्यसमा सबैभन्दा बढी यूकेका ३६ जना थिए भने नेपालका ३० यात्रु रहेका थिए ।
दुर्घटनाभन्दा १६ वर्षअघि निर्माण भएको उक्त एयरबसले ३९ हजार ४६ घण्टा उडान भरेको थियो ।
कसरी भयो दुर्घटना ?
उक्त फ्लाइट–२६८ क्रयास भएका बेला क्यानडाका डेभिट म्याकनेयर नेपालमा थिए । घटनाभन्दा करिब २ महिनाअघि नेपालमै भएको थाइ एयरबेज दुर्घटनाको जाँचका लागि उनी आएका थिए । उनीलाई फ्लाइट–२६८ को जाँचको जिम्मेवारी पनि दिइयो । दुर्घटना भएको केही घण्टामै ब्रिटिस अनुसन्धानकर्ता एन्ड्रियू रोबिन्सनको नेतृत्वमा नेपाल सरकारले दुर्घटनाको अनुसन्धान थाल्यो ।
नेपाल सरकारले करिब ७ हजार फिट उचाईमा रहेको दुर्घटनास्थलमा सेनाको मद्दतले जाँचकर्तालाई पुगायो । पहाडमा ठोक्किएर एयरक्राप्ट पूर्णतया ध्वस्त भएको दुर्घटनास्थलको अनुगमन गरेपछि जाँचकर्ताले अनुसन्धान थालेका थिए । जाँचकर्ताले विभिन्न कोणबाट अनुसन्धान गर्दा दुर्घटना हुनुका विभन्न ६ कारणबारे आकलन गरे ।
सुरुमा फ्लाइट रेकर्डर अर्थात् ‘ब्ल्याक बस्क’को डाटा रिकभरका लागि फ्रान्स पठाइयो तर रेकर्ड आएपछि त्यहाँबाट कुनै ‘क्लू’ पत्ता लागेन । यस्तै विमानमा शंकास्पद व्यक्तिको प्रवेशबारे पनि अनुसन्धानकर्ताले जाँच गरे । तर, विमानमा आतंकी आक्रमण हुन नदिन सेफ्टीका लागि पाकिस्तान एयरलाइन्सले ४ एयरगार्ड राख्ने भएकाले त्यो कारण पनि हुन नसक्ने टुंगोमा जाँचकर्ताको टिम पुग्यो ।
यस्तै विमान नियन्त्रणबाहिर जान इन्जिन बन्द भएको हो कि भन्नेबारे पनि जाँच गरिएको थियो । तर, इन्जिनको जाँच गरेपछि त्यो कारण पनि नभएको पुष्टि भयो ।
त्यसैगरी बादलका कारण फ्लाइटले आफ्नो ट्र्याक परिवर्तन गरेकाले खराब मौसम दुर्घटनाको कारण हुन नसक्ने जाँचकर्ताले निष्कर्ष निकाले । क्याप्टेनले ७ पटक र फस्ट अफिसरले ५ पटक त्यस्तो ‘भिजुअल एप्रोच’मा ल्याण्ड गरिसकेका कारण गल्ती नभएको जाँचकर्ताको टिमले बतायो ।
अन्तमा पाइलटले ‘एप्रोच चार्ट’ अध्ययनमा गल्ती गरेका कारण दुर्घटना भएको हुनसक्ने भन्दै अनुसन्धानकर्ता त्यसतर्फ लागे । जाँचकर्ताले फस्ट अफिसरले एप्रोच पढ्नमा गल्ती गरेका कारण एक कदम अगाडि नै फ्लाइटलाई तल झारेको उनीहरुले निष्कर्ष निकाले ।
‘एप्रोच चार्ट’ अर्थात् उडानका क्रममा पाइलटले प्रयोग गर्ने प्रिन्ट गरिएको गाइडबुक, जसले पाइलटलाई विमान ल्याण्ड गराउन सहयोग गर्छ । उक्त ‘एप्रोच चार्ट’ मा विमानस्थलको दूरी तथा उचाई उल्लेख हुनेहुँदा पाइलटले पढ्न गल्ती गरेको हुनसक्ने निष्कर्ष जाँचकर्ताले निकालेका थिए ।
अन्तत: पाइलटहरुले ‘एप्रोच चार्ट’ पढ्न गल्ती गरेकै कारण ११ हजार ५०० फिटबाट उचाई घटाउनुपर्नेमा फ्लाइटलाई १० हजार ५ सय फिटबाट उचाई कम गरेका कारण विमान पहाडमा ठोक्किएको हुनसक्ने भन्दै अनुसन्धानकर्ताले रिपोर्ट तयार गरे । विमानस्थलबाट ३० किलोमिटर टाढा हुँदा ११ हजार ५०० फिटको उचाईमा हुनुपर्नेमा उनीहरु १० हजार ५ सय फिटको उचाईमा रहेका कारण तर झर्दै गर्दा विमान भट्टेडाँडामा ठोक्किएको जाँचकर्ताको निष्कर्ष थियो ।
विमान अपर्याप्त उचाईमा पहाडको दायरा नजिक पुग्यो र दक्षिणी ढलानमा दुर्घटनाग्रस्त भएको रिपोर्टमा उल्लेख छ । यस्तै फ्लाइटका पाइलटहरूले एयर ट्राफिक कन्ट्रोललाई आफ्नो विमानको उचाइ सही रूपमा रिपोर्ट गरे तापनि नियन्त्रकहरूले तिनीहरूलाई चेतावनी दिन केही नगरेकोसमेत रिपोर्टमा उल्लेख छ ।
मुख्यतया पाइलटको गल्तीले दुर्घटना भएको अनुसन्धानकर्ताहरुले बताएका थिए । पाइलटहरुले ‘एप्रोच चार्ट’ सहि तरिकाले पढेको भए विमान पहाडभन्दा केही सय फिट उचाईमा उड्ने भएकाले १६७ यात्रु सकुशल ल्याण्ड गर्ने जाँचकर्ताको निष्कर्ष थियो ।
उक्त दुर्घटनाको अनुसन्धानपछि जाँचकर्ताहरुले ‘सियरा एप्रोच चार्ट’लाई सजिलो ढंगले अध्ययन गर्न सकिने बनाइनुपर्ने, ककपिटमा ‘चार्ट क्लिप्स’ लगाउन स्थान बनाइनुपर्ने र काठमाडौं विमानस्थलमा रडार स्थापना गरिनुपर्ने लगायतका सिफारिस गरेका थिए ।
५९ दिनअघिको त्यो अर्को विमान दुर्घटना
पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान ठोक्किएको ठिक ५९ दिनअघि नेपालमै अर्को भयानक विमान दुर्घटना भएको थियो । थाइल्यान्डको बैंककबाट आएको थाइ एयरबेजको फ्लाइट नम्बर ४११ को विमान रसुवाको घ्याङफेदीमा दुर्घटनाग्रस्त भएको थियो ।
१९९२ जुलाई ३१ मा भएको उक्त दुर्घटनामा परेर १४ जना ‘क्रू मेम्बर’ र ९९ जना यात्रुसहित ११३ जनाको ज्यान गएको थियो ।