अस्ट्रेलियाकी राजदूत भोल्क फिर्ता हुनुअघि बिदाइ भेटघाटमा ब्यस्त


काठमाडौं – अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क केही दिनमै स्वदेश फिर्ता हुँदैछिन् । सेवा अवकास लिएर स्वदेश फर्किनुअघि उनले नेपालका उच्चस्तरीय बिदाइ भेट गरिरहेकी छिन् । यही अगष्टमा उनी स्वदेश फर्कने बताएकी छिन् ।

बुधबार सभामुख देवराज घिमिरेसँग भोल्कले बिदाइ भेट गरिन् । भेटमा सभामुख घिमिरेले नेपालको लागि अस्ट्रेलियन राजदूतको रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई ज्ञापन गरे। सभामुख घिमिरेले नेपाल र अस्ट्रेलियाबीच यस वर्ष सम्पन्न व्यापार र लगानीसम्बन्धी सम्झौता (टिफा)को कार्य अघि बढिरहेकोमा खुसी व्यक्त गरे ।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई अझ बढी मजबुत बनाउन द्विपक्षीय भ्रमणको आदान–प्रदान, नेपाल–अस्ट्रेलिया संसदीयमैत्री समूहको गठनलगायतले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सभामुखको भनाइ थियो । उनले अस्ट्रेलिया सरकारले कोभिड–१९ तथा जाजरकोट भूकम्पका समयमा नेपाललाई प्रदान गरेको मानवीय सहायताप्रति धन्यवाद व्यक्त गरे।

राजदूत भोल्कले नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि उच्चस्तरीय भ्रमण तथा सहयोग जारी रहने बताइन् । त्यस्तै यसअघि उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेकी थिइन भने प्रधानसेनापति प्रभुराम शर्मासँग पनि विदाइ भेट गरेकी थिइन् ।

भोल्कसँगको भेटमा यादवले नेपालको लागि अस्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थिए । एकसाता अघि नै नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।

सन् २०२१ मा नेपालको राजदूत नियुक्त भएकी भोल्क अस्ट्रेलियन सरकारको परराष्ट्र मामिला विभागको उच्च अधिकारी हुन्। साढे तीनवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारी गरिरहेकी छिन् ।

नेपालमा रहँदा उनले देशका विभिन्न स्थानको भ्रमण गर्दै सांस्कृतिक आदनप्रदानमा सहभागिता जनाएकी थिइन । उनले नेपाली सांस्कृतिक पोसाकमा तस्विरहरु खिचेर नेपालीहरुको मन तानेकी थिइन ।

अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरिसकेको छ । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।

प्रतिक्रिया