

एमाले संसदीय दल र केन्द्रीय कमिटीको बैठक आह्वान, नेपाल पक्ष सहभागी नहुने

काठमाडौैं – नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक बालुवाटारमा बाेलाइएको छ । अहिले बिहान १० बजेका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् ।
तर, नेकपा एमालेका माधव पक्ष भने बालुवाटारमा बोलाएको कारण सहभागी नहुने जनाउँदै संसदीय दलको बैठक सिंहदरबार वा संसद भवन बानेश्वरमा राख्नुपर्ने भन्दै आएको छ ।
नेपाल समूहको बैठकले संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद भवन बानेश्वरको राख्नुपर्ने तर्क गरेको छ ।
शुक्रबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
दलको कार्यालय वा संसद् भवनमा बैठक आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा सहभागी हुने बारेमा विचार गर्ने निर्णय आजको बैठकले गरेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।
यस्तै बैठकले ओलीले फागुन २८ गते ‘एकलौटी रुपमा’ गरेका निर्णय खारेज नगरेसम्म केन्द्रीय कमिटीको बैठकमा नजाने निर्णय भएको उनले बताए ।
सर्वोच्च अदालतको फैसालाले एमाले ब्युँताएपछि अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर विधान संशोधन, जिम्मेवारी हेरफेर र माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेका थिए ।
ओलीले शनिबार बिहान साढे १० बजे संसदीय दलको बैठक राखेका छन् भने त्यसपछि केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेका छन्।

