कालापत्थरमा नृत्य गर्दै सुरेन्द्र र सुसनद्वारा गिनिज बुकमा दावेदारी


काठमाडौँ – कोरियोग्राफरद्वय सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापत्थरमा हालैमात्र सर्वाधिक उचाइमा कोरियोग्राफी (नृत्य) गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि उनीहरूले गत आइतबार ५ हजार ४ सय ३८ मिटरको उचाइमा जोडी नृत्य गरेका हुन् ।

उनीहरूले गायक दीपक बज्राचार्यको चर्चित गीत ‘मन मगन’मा दुई मिनेट ३० सेकेन्ड नृत्य गरेका थिए । उनीहरूको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफी उमेश सापकोटा तथा सोनम केसी थिए ।

आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वल्र्ड रेकर्डर बनेका सानु शेर्पा विशेष अतिथिका रूपमा सुरेन्द्र र सुसनको नृत्यको साक्षी बनेका थिए । खराब मौसमको बाबजुद पनि २०/२५ जना दर्शकको उपस्थितिमा उनीहरूले आधिकारिक गिनिज वल्र्ड रेकर्डको लागि नृत्य गरेका थिए ।

सुरेन्द्र र सुसनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन् । गिनिजको तर्फबाट नेपाल प्रतिनिधि चित्रकुमार कार्कीको निर्देशनमा उनीहरूले कार्यक्रम गरेका थिए ।

सुरेन्द्र र सुसनका अनुसार कार्यक्रमको छायाङ्कनका प्रमाण र अन्य प्रमाणहरू गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ । त्यो प्रमाण स्वीकृत भएपछि गिनिज हेडक्वार्टरले रेकर्डको आधिकारिक घोषणा गर्नेछ ।

प्रतिक्रिया