

सर्वोच्च अदालतको एउटा ‘राजनीतिक फैसला’ले समाचार लाइनमा उदाएका सन्ध्या–किराँती

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवादको निरुपण गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि चर्चामा आए ऋषिराम कट्टेल।
कट्टेलले मुद्दा जित्नुमात्र समाचार बनेन। २३ फागुनमा सुनाएको फैसलाले राजनीतिक विषयमा समेत प्रवेश गरी एमाले र माओवादी केन्द्र ब्युँताइदियो।
त्यसपछि समाचार लाइनमा आए दुई पात्र। अध्यापनलगायतका काममा सक्रिय रहेकी सन्ध्या तिवारी र पुष्पकमल दाहाल प्रचण्डसँग राजनीतिक सम्बन्ध तोडेका नेता गोपाल किराँती।
एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यी दुईले दर्ता गराएको एमाले र माओवादी केन्द्रको नाम फेर्नुपर्ने अवस्था आयो, नत्र खारेजी हुने प्रक्रियामा निर्वाचन आयोग जानुपर्ने भयो।
तिवारीको राजनीतिक पृष्ठभूमी त्यति बलियो नभए पनि किराँती भने माओवादीमा गन्ने मान्ने नेतामा नै पर्दथे। उनी झापामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चुनाव लड्न समेत पुगेका थिए।
किराँतीको चर्चा यति मात्र होइन, सोलुखुम्बुमा तत्कालिन नेपालका लागि भारतीय रादूत राकेश सुदमाथि जुत्ता प्रहारदेखि तत्कालिन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीसम्मलाई गरेका हमलामा उनको नाम जोडिन्थ्यो।
तिवारी र किराँती समाचारका हेडलाइन बनिरहेका छन्। निर्वाचन आयोगले मंगलबार विज्ञप्ति निकालेर नेकपा माओवादी केन्द्रको हकमा अर्को नयाँ नाम र चिन्ह तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी–लेनिनवादीको हकमा नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण पेस गरेपछि उनीहरू अझै हेडलाइन नै छन्।
तिवारी नेतृत्वको नेकपा एमालेको नाम मात्रै सुधार गर्न भनिएको छ। उक्त पार्टीले पहाडबाट उदाउँदै गरेको सूर्य चिन्ह लिएको थियो। किराँतीको भने नाम फेर्दै चुनाव चिन्ह समेत परिवर्तन गर्नुपर्ने अवस्था छ।
कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई ०७५ मा हालेको रिटको सुनुवाई गरी अदालतले तहल्का हुनेगरी फैसला गरिदियो। जसका कारण प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड पक्षको विवादको निरुपण मात्र नभएर मुलुककै राजनीतिमा नयाँ तरंग ल्यायो।

