‘हार्डलाइनर’ विप्लवको ‘सफ्टकर्नर’ उदय, यसरी भए मूलधारका शक्तिशाली


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार राष्ट्रिय सभा गृहमा सार्वजनिक हुँदैछन्। शान्ति सम्झौतापछि तत्कालिन माओवादी मूलधारको राजनीतिमा आए पनि मोहन वैद्य किरणहरूसँगै विप्लव पुष्पकमल दाहाल प्रचण्डसँगको यात्रा टुंगो लगाउँदै छुट्टिएका थिए।

वैद्य समूहमा रहँदा विप्लवको फरक मत रहन्थ्यो– फेरि पनि जनयुद्ध जारी राख्नुपर्ने बेला छ। यसैले उनी वैद्यहरूबाट अलग भएर हिंसात्मक आन्दोलनको बाटोमा सक्रिय भए।

उनको संगठन विस्तार र सैन्य दस्ता बनाउने उपक्रम चलिरहेका बेला राजधानीलगायतका विभिन्न स्थानमा छिटपुट विस्फोट पनि भए। जसका कारण सरकारले उनको दलमाथि प्रतिबन्ध घोषणा गरेको थियो। विहीबारको मन्त्रिपरिषदले उक्त प्रतिबन्ध तीन बुँदे सहमतिको आधारसँगै हटाएको छ।

विप्लवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग हस्ताक्षर गर्नेछन् र मञ्च शेयर गरी आफ्ना अभिव्यक्तिलाई राख्नेछन्।

हार्डलाइनरबाट सफ्टकर्नर यात्रा

तत्कालिन नेकपा माओवादीभित्र दुईवटा राजनीतिक लाइन थिए। जसलाई प्रचण्डले बेलामौका उपयोग गरेर नेतृत्वमा बसीरहे। मोहन वैद्य किरण, विप्लवहरूले समातेको हार्डलाइन र डा. बाबुराम भट्टराई, देवेन्द्र पौडेलहरूको सफ्टलाइन।

प्रचण्डले बाबुरामलाई चेपेपछि वैद्यलगायतसँगै विभाजनमा पुगेका विप्लवको उदय भने आफू एक्लिएर अलग पार्टी बनाएपछि तिव्रतामा भएको थियो। कतिपयले कि विप्लव पक्राउ पर्छन् कि इन्काउन्टर हुन्छ भन्ने अनुमान लगाउने गरेका थिए।

अझ सरकारले प्रतिबन्धको घोषणा गरेको र सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसँगको टसलका कारण त्यसमा इगोसमेत हुनसक्ने अनुमान गरिएको थियो। सरकारको प्रतिबन्धले त झनै उनी राजनीतिक शक्तिमा विस्तारै उदाउन थाले।

नेपाल प्रहरीका लागि उनको गतिविधि नियन्त्रण गर्नु ठूलो चुनौति थियो। धेरै कार्यकर्ता पक्राउ गरिए पनि गतिविधि अझ बढ्दै जाने अनुमानका रिपोर्ट प्रधानमन्त्री ओलीलाई पुग्ने गरेको थियो।

‘यता राज्यको कमजोरी, सत्ताधारी दलका खिचातानीबीच विप्लवको राजनीतिको महत्व मनोवैज्ञानिक हिसाबले बढेको अनुमान गरिन्थ्यो’, सुरक्षा निकायका अधिकारी भन्छन्,‘मानिसहरू उक्त समूहमा आवद्ध हुन थालिसकेका थिए।’

त्यसो त विप्लवको राजनीतिका नाममा भइरहेका हिंसात्मक गतिविधिलाई नेपाली सेनाले पनि मार्क गरिरहेको थियो। सेनाले पृतनापतिहरूको बैठकमा पनि यस विषयमा चर्चा चलाएको र गतिविधिलाई जानकारीमा राखिरहन भनिएको थियो।

यी विवरण सतहमा आउनासाथ विप्लवको संगठनात्मक महतव बढेको थियो। सत्तारुढ नेकपाको विभाजनपछि भने उनको महत्वलाई प्रधानमन्त्री ओली, गृहमन्त्री थापालगायत सरकारमा रहेका पूर्वमाओवादी नेताले खुट्याए।

प्रचण्डले तत्कालिन एमालेलगायतको एउटा कित्तालाई शक्ति संचयको पृष्ठभूमीमा देखाउन थालेपछि प्रधानमन्त्री ओलीले माओवादीको अर्को विद्रोही कित्तालाई आफूनिकट र मूलधारमा ल्याउने अभ्यासले विप्लवको महत्व मात्रै बढेन, शक्तिशाली बन्न थाले।

‘प्रचण्डसँग कार्यनीतिको मतभेदले नै विभाजित भएर अलग संगठनात्मक बाटोमा हिँडेकालाई ओलीले आफूनिकट, आफ्नो पार्टीमा सहभागी गराउनु बाध्यता र इगो दुवै थियो’, राजनीतिक सुरक्षा मामिलाबारेका एक जना जानकार भन्छन्,‘उनलाई मूलधारमा ल्याएपछि ओलीले एउटा ब्याटललाई जितेका छन्।’

विप्लवले हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजनीतिलाई अँगाल्ने सहमति गरेका छन्। तत्कालिन अवस्थामा उनी अलग दलका रुपमा सक्रिय हुने भए पनि अब हुने चुनावअघि उनी ओलीसँगको गठजोडमा उभिने स्वभाविक अनुमान गरिएको छ। यस अर्थमा उनी फरक तर शक्तिशाली राजनीतिज्ञका रुपमा स्थापित हुने बताइन्छ।

‘राजनीतिमा विचारलाई स्थापित गर्नु महत्वको कुरो हो। हामी एउटा विचारमा छौं, समानता आउनेसँग सहकार्य हुनेछ। तर हिंसा मात्रै पनि विचार स्थापित गर्ने बाटो होइन भन्ने ठहर गरेरै सरकारसँग सहमति भएको हो’, उक्त दलका एक नेता भन्छन्।

वार्ता र सहमतिका लागि भने विप्लवलाई धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश ओलीलगायतका नेता पक्राउ गरिनुको दबाब पनि परेको कतिपयको आँकलन थियो।

प्रतिक्रिया