

हर्क साम्पाङसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं- धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङविरुद्ध हातपात प्रकरणमा प्रहरीमा उजुरी परेको छ।
धरान–११ स्थित नगरकोट–बानडाँडा सडक र ड्रेन निर्माणसम्बन्धी विवाद समाधानका लागि मंगलबार स्थलमा पुगेका मेयर साम्पाङ र स्थानीय बासिन्दा सन्तोष लिम्बूबीच वादविवाद भएको थियो। विवादपछि लिम्बूले साम्पाङ, वडा नं. ११ का अध्यक्ष लोकेन्द्र फागो र साम्पाङका समर्थक जोन लिम्बू (चङ्खे) विरुद्ध उजुरी दर्ता गराएका हुन्।
प्राप्त जानकारीअनुसार प्रदेश सरकारले सडक स्तरोन्नतिको लागि विनियोजन गरेको २० लाख रुपैयाँमध्ये यस आर्थिक वर्षमा सीमित क्षेत्रमै खर्च हुने भएपछि स्थानीय असन्तुष्टि चुलिएको थियो। सोही विषयमा छलफलका लागि मेयर साम्पाङ निर्माणस्थल पुगेका थिए।
विवाद चर्किंदै जाँदा साम्पाङका समर्थक जोन लिम्बूले सन्तोष लिम्बूमाथि हातपात प्रयास गरेका आरोप उजुरीमा उल्लेख छन्। उजुरीदाताका अनुसार घटनाको समयमा नगरप्रमुख साम्पाङ मौन रहेर समर्थकको हिंसात्मक व्यवहारप्रति कुनै प्रतिक्रिया नजनाएको गुनासो छ।
नगरकोट टोल विकास संस्थाका अध्यक्षसमेत रहेका लिम्बूले मेयरको उपस्थितिमै आफूमाथि कुटपिट प्रयास भएको भन्दै दोषीहरूमाथि कानूनी कारबाहीको माग गरेका छन्।
धरान प्रहरीले उजुरी प्राप्त भएको पुष्टि गरेको छ र घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

