उपरथी थापाको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारमा उजुरी


काठमाडौं – नेपाली सेनाका उच्च अधिकृतहरु अहिले धमाधम छानबिनमा पर्न थालेका छन् । पछिल्लो समय रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए भने अहिले उनीपछि तेस्रो बरियतामा रहेका उपरथी निर्मल कुमार थापा पनि छानबिनमा परेका छन् ।

उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका उच्चाधिकारीहरु विवादै विवादमा रहेको पुष्टी भएको छ ।

थापाविरुद्ध अख्तियारमा पूर्व सैनिक अधिकृतहरुले प्रवीणता प्रमाण पत्र तह (आईए) को शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् । उनले भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली प्रमाणपत्र ल्याएर २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

बरियताको शीर्षस्थानमा रहेका उपरथी पाण्डेको राजीनामा स्वीकृति भएसँगै दोस्रो बरियतामा रहेका उपरथी अशोककुमार सिग्देल रथीका लागि बढुवा सिफारिस भइसकेका छन् । उनीविरुद्ध एक साताभित्र उजुरी दिनसकिने जंगी अड्डाले जनाएको छ । यदि सिग्देल रथीमा बढुवा भएको खण्डमा आगामी भदौमा नेपाली सेनाको कमाण्ड सम्हाल्नेछन् ।

प्रतिक्रिया