सर्वोच्चसंग संसद् पुनस्थापना गर्नु बाहेक अरू विकल्प छैन : गगन थापा


पोखरा – नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा मुठभेट सृजना गराउन चाहेको आरोप लगाएका छन् ।

उनले नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ पर्नु त्यसैको संकेत भएको बताए । नेपाल शिक्षक संघ मादी गाउँपालिका इकाइद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा नेता थापाले निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भएको एउटै पार्टीलाई चिन्ने बताए ।

नेता थापाले सर्वोच्च अदालतसंग संसद पुनस्थापना गर्नु बाहेक अरू विकल्प नभएको बताए । नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नभएको भन्दै उनले सर्वोच्चले पनि त्यही संविधानमा टेकेर फैसला गर्ने स्पष्ट पारे ।

‘मलाई मेरो सर्वोच्च अदालतप्रति पूर्ण विश्वास छ । संसद पुनस्थापना हुन्छ’, उनले भने । आजको दिनमा नेपाली कांग्रेसको एकमात्र मुद्दा भनेको संसद पुनस्थापना हुनुपर्छ भन्ने रहेको उनले बताए । कांग्रेसले संसद पुनस्थापना गर्नुपर्छ भन्ने पक्षमा निर्णय गरेको भन्दै यसबाट दायाँबायाँ गर्न नहुने नेता थापाले बताए ।

नेता थापाले भने, ‘केपी ओलीले त उदाउँदो सूर्य चुनाव चिन्ह भएको नेकपा एमाले दल दर्ता गरिसकेका छन् । उनी त्यही दल र चिन्हमा चुनाव लड्छन् । प्रचण्डहरुसंग न दल हुन्छ, न चुनाव चिन्ह । यस्तो अवस्थामा प्रचण्डहरु चुप लागेर बस्छन् त बस्दैनन् । यो भनेको सिधै मुठभेड निम्तिनु हो ।’

नेता थापाले सरकारमा रहेको नेकपा र सडकमा रहेको नेकपालाई हेर्ने दृष्टिकोण १९, २० भए पनि उनीहरु दुवैको चरित्र र प्रवृत्ति एउटै भएको बताए ।

प्रतिक्रिया