भारतीय उद्योगपतिको घरमा चोरी गर्ने सात नेपाली पक्राउ, दुई फरार
नयाँ दिल्ली – भारतमा एक उद्योगपतिको घरमा चोरी गर्ने सातजना नेपाली पक्राउ परेका छन्। भारतस्थित बैंगलोरका एक उद्योगपतिको घरमा काम गर्ने नेपालीहरुले नै चोरी गरेको भन्दै बैंगलोरको कोरामंगला प्रहरीले सातजना नेपालीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यम द हिन्दु ले जनाएको छ।
घरमा काम गर्ने नेपालीहरुले नै चोरी गरेको भारतीय प्रहरीले जनाएको छ। केही दिनअघि कोरामंगलास्थिति उद्योगपति मदन मोहन रेड्डीको घरमा एक नेपाली पुरुष, उनकी श्रीमति र नातेदारहरुले काम गर्न सुरु गरेका थिए।
उद्योगपति रेड्डीको परिवार २० वर्षीया छोरीलाई घरमा छोडेर तामिलनाडुस्थित कृषनगरीमा रहेको आफ्नो फार्ममा गएका थिए। सोही मौका छोपेर घरमा चोरी भएको जनाइएको छ।
भारतीय प्रहरीले भनेको छ, ‘घरमा काम गर्नेहरुले २० वर्षीया किशोरीलाई धम्क्याएर सुन र हिराका गहना, घडीहरु र नगद चोरी गरेर लगेको थिए।’ घरमा काम गर्नेको वास्तविक ठेगाना नभएपछि अनुसन्धानमा तीन महिना लागेको भारतीय प्रहरीले जनाएको छ।
तीन महिनाको अनुसन्धानपछि नेपाली सीमा क्षेत्रबाट चोरीमा संलग्न सातजनालाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेहरुमा ४५ वर्षीय प्रेमबहादुर विष्ट, उनकी ४० वर्षीया श्रीमति धना विष्ट, उनका नातेदार २२ वर्षीय टिकाराम विष्ट रहेका छन्। तीनैजना उद्योगति रेड्डीको घरमा काम गर्ने गरेका थिए।
त्यसैगरि ३२ वर्षका जनक कुमार, २८ वर्षका कमल विश्वकर्मा, २४ वर्षका जनक जोशी र २४ वर्षका सुनिलबहादुर शाहीलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको छ। चोरी गर्ने समूहका अन्य दुईजना सञ्जय र बिनोद फरार रहेको र खोजी कार्य भइरहेको जनाइएको छ।
उनीहरुको साथबाट ८५७ ग्राम सुन र ६६.९ ग्राम हिराका गहना पनि बरामद गरेको जनाइएको छ।