प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ सुरू


काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ सुरू भएकाे छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै दायर विभिन्न रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ ।

उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । यसअघि बुधबार यो मुद्दा किन बृहतपूर्ण इजलासमै भनेर बहस सुरु भएको थियो ।

रिट निवेदक कानूनविद्हरुले यस्तो मुद्दाको सुनुवाइ विगतमा पनि बृहतपूर्ण इजलासमा नै भएको र अहिले सोही प्रकृतिको यो मुद्दा पनि बृहतपूर्ण इजलासमा नै लैजानुपर्ने माग राख्दै आएका छन् भने सरकारी पक्षले संवैधानिक इजलासबाटै यसको टुंगो लगाउने अडामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरिएको थियो । यसपछि सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न १३ वटा रिट परेका छन् ।

प्रतिक्रिया