सिरहा बम विस्फोटः समातिए मुख्य अभियुक्त, गोइतको निर्देशनमा बम राखेका हौंः अभियुक्त


सिराहा – गत १ चैतमा सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्रेको छ।

लहान नगरपालिका–८ स्थित भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोटमा ८ जना घाइते भएका थिए।

पक्राउ पर्नेमा सिरहा सुखीपुर–५ बस्ने २५ वर्षीय राम रिझन यादव र सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरजप्रताप सिंहले जानकारी दिए।

उनीहरुले घटना स्वीकार गरिसकेको बताउँदै डिआईजी सिंहले भने, ‘उनीहरुलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष टोलीले सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो।’

घटनालगत्तै तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) ले घटनाको जिम्मेवारी लिएको थियो। गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा सिरहा सुखीपुर–८ बस्ने आरके भन्ने राम कुमार यादवले कुकर बम दिएको र मालपोत कार्यालयमा विस्फोट गराएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन्।

मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरिरहेको र पटक–पटक चेतवानी दिँदा पनि सुधार नआएको भनी पक्राउ परेका व्यक्तिहरुबाट खुलेको डिआईजी सिंहले बताए। बम कार्यालयमा अध्याधिक भीड भएको समयमा विस्फोट भएको थियो।

रामरिझन ९ चैत २०७४ मा विकास ज्वेलर्स लहानमा भएको विस्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनी त्यस्तै ३१ साउन २०७५ मा विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको मुद्दामा मोरङ अदालतबाट ३५ हजार धरौटीमा समेत रिहा भएका थिए।

अभिमन्यू गिरी विगत ५ वर्षदेखि तराई जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) मा संलग्न रही बलपूर्वक चन्दा असुली काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका उनीहरुको साथबाट २ थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली, मालपोत कार्यालयमा बम राख्न जाँदा रामरिझन यादवले लगाएको रातो ज्योकट, चप्पल र टिसर्ट बरामद भएको प्रहरीले जनाएको छ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी भोलाबहादुर मगर, गोलबजार नगरपालिकाका लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिकाका लालबहादुर विश्वकर्मा, फूलकुमारी ठाकुर, बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका थिए।

प्रतिक्रिया