अवैध लागूऔषधसहित ५ जना ब्यूरोको नियन्त्रणमा
काठमाडौं – काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ५ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ बागबजार ठेगाना भएकी ४० वर्षीया कमला लामा, काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने भारत बिहार ठेगाना भएका ३० वर्षीय गोविन्द पोद्दार, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय मान बहादुर तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ ठेगाना भएका ३३ वर्षीय शुवाश श्रेष्ठ र तेमाल गाउँपालिका-६ ठेगाना भएकी ३६ वर्षीया सिता राना मगर रहेका छन् ।
पक्राउ परेकामध्ये लामाको साथबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल बुप्रेनोर्फिन (नूफिन), ५० एम्पुल बुप्रेनोर्फिन (लुपिजेसिक), १ सय ९१ एम्पुल डाईजेपाम र नगद ४० हजार रुपैयाँ, पोद्दारको साथबाट नियन्त्रित लागूऔषध ११ एम्पुल बुप्रेनोर्फिन (नुफिन), १२ एम्पुल डाइजेपाम र ९ एम्पुल फेनारगन, तामाङको साथबाट नियन्त्रित लागूऔषध ५ एम्पुल डाइजेपाम, ५ एम्पुल बुप्रेनोर्फिन र ५ एम्पुल फेनारगन, श्रेष्ठको साथबाट नियन्त्रित लागूऔषध १ सय ८७ एम्पुल डाइजेपाम, २ सय ९ एम्पुल बुप्रेनोर्फिन, १ सय ४१ एम्पुल फेनारगन र नगद ५० हजार ५ सय रुपैयाँ र मगरको साथबाट नियन्त्रित लागूऔषध २६ एम्पुल बुप्रेनोर्फिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनारगन प्रहरीले बरामद गरेको हो ।
त्यस्तै बाँके नेपालगंज उपमहानगरपालिका-१५ माछामण्डीबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद ८ हजार सहित दाङ गढवा गाउँपालिका-६ प्रगतिनगर बस्ने २२ वर्षीय आशिष पाण्डेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उक्त धुलो पदार्थ लिन पठाउने दाङ लमही नगरपालिका-५ बस्ने ३० वर्षीय दाम बहादुर पाण्डेलाई नगद ११ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै कञ्चनपुर बेलौरी नगरपालिका-६ सुतियाबाट २० ग्राम ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारत घर भएका ३२ वर्षीय सुच्चा सिंहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै भिमदत्त नगरपालिका-१८ सालघारी बस्ने ४१ वर्षीय निराजन बडुलाई ४८ ग्राम अवैध लागूऔषध चरेश सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । बडुको घरमा रहेको किराना पसलमा जाँच गर्दा उक्त चरेश फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बारा कलैया उपमहानगरपालिका-७ बरेवाबाट करिब ८ केजी अवैध लागूऔषध गाँजा सहित सिम्रौनगढ नगरपालिका-७ खजानी टोल बस्ने २४ वर्षीय पप्पु कुशवाह समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्दा उक्त गाँजा फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको हो ।
कैलाली धनगढी उपमहानगरपालिका-१३ मोहनपुर बस्ने ३२ वर्षीया मिना ऐरलाई ३ सय ग्राम अवैध लागूऔषध चरेश र ३४ ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मिना लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।