इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आईपीओ बिक्रि खुल्ला, कति दिने आबेदन ?


काठमाडौँ – नेपाली धितोपत्र बजारमा हालसम्मको सबै भन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । आज माघ २ गते शुक्रबार देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक को ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।

बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

पछिल्लो समय आईपीओमा आबेदन गर्नेको संख्या साढे १२ लाख नाघिसकेको छ । अझै डिम्याट खाता खोल्नेको संख्या पनि दैनिक तिब्र रुपले बढ्दैछ । त्यस अनुसार बैंकको आईपीओमा आबेदन गर्नेको १५ लाख पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।

त्यस अनुसार सबै आबेदकलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ । तर सबै आबेदकले ५० कित्ताको लागि आबेदन नगर्नपनि सक्छ । त्यसैले न्युनतम ५० देखि ७० कित्ता सम्मको लागि आबेदन गर्दा उपयुक्त हुने देखिन्छ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया