

सेनाको ‘अपरेशन महाहण्ट’ : मृत जरायो र हतियारसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाली सेनाले संचालन गरेको ‘अपरेशन महाहण्ट–९’ को दौरान पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित पाँच जना पक्राउ परेका छन्। उनीहरुको साथबाट एउटा मृत जरायो पनि बरामद भएको नेपाली सेनाले जनाएको छ।
निकुञ्ज सुरक्षार्थ तैनाथ सिद्धिबक्स गणको सुरक्षा वेश चारभैयाबाट निकुञ्ज प्रशासनको कर्मचारीसहित खट्टिएको सेनाको टोलीले जमुनिया खोला नाका ईलाकामा एम्बुस थापी सर्चको कारबाही गर्दा उनीहरु फेला परेका हुन्।
सेनाले शंकास्पद अवस्थामा रहेका मानिससहित हतियार, गाडी र अन्य सामग्री बरामद गरेको थियो। पक्राउ परेका शंकास्पद मानिसहरुलाई थप अनुसन्धानको लागि बरामद गरिएको सामग्रीहरु सहित पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको छ।
उनीहरुको साथबाट मृत जरायो, जरायोको टाउको, १२ बोर नाल एक गोटा, राउण्ड–एक गोटा, प्वाईन्ट २२ हतियारको राउण्ड नौ गोटा, नाईट भिजन राईफल स्कोप केशसहित एक गोटा, बोर साईट केशसहित एक गोटा, ल्याण्ड क्रुजर गाडी, बोलेरो गाडी, बैक तथा वित्तिय संस्थाको चेक, एटिएम लगायतका कागजादहरु फेला परेको सेनाले जनाएको छ।

