

विप्लव नेकपाका ७ जना नेता कार्यकर्ता हेटौँडाबाट पक्राउ

मकवानपुर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सात जना नेता कार्यकर्ता पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका १० बसपार्कबाट उनीहरु पक्राउ परेका हुन् ।
सरकारले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न ल्याएकाे अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै हेटौँडा बसपार्कमा पूर्व–पश्चिम राजमार्ग अवरोध गर्न खोजेपछि अखिल क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सूर्य सिंहसहित सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरूमा अखिल क्रान्तिकारी पश्चिम बाग्मती संयोजक विवक घलान, अखिल क्रान्तिकारी मकवानपुर उपाध्यक्ष सूर्य सिंह, केन्द्रीय पार्टी सदस्य राम घलान, अखिल क्रान्तिकारी जिल्ला सदस्यहरू सुरज घलान, अमन लामा, रवि रुम्बा र भूषण लामा रहेका मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
नेकपाले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयका लागि ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्र भएको भन्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको कार्यतालिका अनुसार आज (मङ्गलवार) १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम थियो ।

