वृद्धवृद्धाको मुहार चम्काउन पाँचखाल नगरको ‘दाँत भर्ने’ योजना !


काभ्रे — राजधानी नजिकैको जिल्ला काभ्रेपलाञ्चोक अर्थात् छोटकरीमा काभ्रे । काभ्रे भञ्ज्याङ र पलाञ्चोक भगवतीको नाम जोडेर नामाकरण गरिएको काभ्रेपलाञ्चोक । र ती दुवै ठाउँको बीचमा पर्ने पाँचखाल फाँट, जहाँका तरकारी राजधानीका हरेक भान्साहरुमा पाकिरहेको हुन्छ ।

पाँचखाल भन्ने बित्तिकै पहिलोपटक तरकारी भन्ने शब्द आउँछ । त्यही पाँचखाल अहिले तरकारीको लागि मात्र नभएर विकासको पयार्यबाचीको रुपमा रहेको छ । एउटा नेतृत्व सही भएमा कसरी विकास हुन्छ भन्ने कुराको उदाहरण पाँचखाल बनेको छ । दोस्रो पटक पाँचखाल नगरको नेतृत्व सम्हालेका महेश खरेलको उदाहरणीय कार्य मुलुकभरका स्थानीय तहका लागि शिक्षा बन्ने गरेको छ । त्यसको प्रमाणस्वरुप अघिल्लो कार्यकालमा पाँचखाल पटकपटक उत्कृष्ट नगरको रुपमा छनोट हुनु हो ।

उनै खरेल अहिले पाँचखालमा आफूले सुरु गरेका कामलाई सम्पन्न बनाउनका लागि दोस्रो इनिङ लिएर आएका छन् । दोस्रो इनिङको सुरुवातसँगै पाँचखाल नगरपालिकाले समस्त वृद्धवृद्धाहरुको मुहार चम्काउने किसिमको योजनालाई निरन्तरता दिएको छ । हरेक स्थानीय तहले आफू मातहतका स्थानीयलाई सम्बोधन गर्ने गरि योजना ल्याइरहेका बेला पाँचखालमा पनि एउटा नमूनायोग्य र फरक योजनालाई निरन्तरता दिएको हो ।

यसै मेसोमा पाँचखाल नगरपालिकाले नगरभित्रका ६० वर्ष माथिका जेष्ठ नागरिकहरूका लागि यस्तै एउटा योजनालाई थप तीब्रता दिएको छ— दाँत भर्ने !

मेयर महेश खरेलले जेष्ठ नागरिकका लागि नगरपालिकाले निःशुल्क रूपमा दाँत राखिदिने कार्यक्रम लागू गरेको जानकारी दिए। पहिलो कार्यकालमै सुरु भएको यस योजनालाई दोस्रो इनिङमा पनि निरन्तरता दिएको खरेल बताउँछन् । बजेटनै विनियोजन गरेर अगाडि बढाइएको उक्त योजनाबाट थोरै हदसम्म भए पनि वृद्ध नागरिकको मुहारमा खुशी ल्याउन सक्ने योजना भएको स्थानीय एक वृद्ध बताउँछन् ।

‘दाँत झरेर जेष्ठ नागरिकलाई मकै खान, मासुलगायत खान पनि साह्रै समस्या हुने गरेको पाइएपछि हामीले गत वर्षदेखि नै यो कार्यक्रम लागू गरेका थियौं,’ मेयर खरेलले भने, ‘उहाँहरू खुलेर नबोल्ने, नहाँस्ने। हाँस्दा पछ्यौराले मुख छोपेर हाँस्ने गरेको देखियो। दाँत राखेर हाम्रा आमा-बुवाको मुहारमा खुसी ल्याउन यो कार्यक्रम लागू गरियो।’

गत वर्ष ७२ जना जेष्ठ नागरिकका लागि नगरपालिकाले आफ्नो खर्चमा दाँत राखिदिएको पनि उनले जानकारी दिए। ‘हामीले वडाहरूबाटै एकरदुइटा दाँत झरेका वा सबै दाँत झरेका जेष्ठ नागरिक खोजेर लगेर दाँत भर्ने व्यवस्था मिलाएका थियौं,’ खरेलले भने, ‘दाँत राख्ने कामका लागि धुलिखेल अस्पतालसँग हामीले सहकार्य गरेका छौं, आर्थिक पाटो हेर्ने जिम्मेवारी नगरपालिकाकै हो।’

नगरपालिकाले जेष्ठ नागरिकलाई दाँत भर्ने अभियान नै सञ्चालन गरिएको उनले जानकारी दिए। ‘यसपटक पनि म निर्वाचित भएर आएपछि हामीले दन्त शिविर गर्‍यौं। अब छिट्टै ४२ जनाको दाँत भर्न लागेका छौं,’ उनले भने ।

नगरपालिकाले जेष्ठ नागरिकका आँखा उपचार गर्ने, महिलाहरूको पाठेघर खस्नेलगायत रोगको पनि नगरपालिकाले निःशुल्क उपचारका लागि २५ लाख रूपैयाँ बजेट विनियोजन गरेको खरेलले बताए ।

नगरभित्रका हरेक व्यक्तिको हितका लागि काम गर्नु कुनै पनि नेतृत्वको दायित्व र कर्तव्य हुन आउँछ, तर कतिले त्यसलाई पूरा गर्छन् कतिले गर्दैनन्, त्यो फरक कुरा हो । तर, पनि लामो समयसम्मको अमेरिका बसाईपछि गाउँ फर्केका खरेलले नगर र नगरभित्रका हरेक व्यक्तिको समस्यालाई पहिचान गर्दै योजना बनाएर अघि बढ्नु नगरबासीका लागि खुशीको कुरा हो । विगत ५ वर्षदेखि नगरबासीका हरेक दुःख र समस्यामा साथ दिएका खरेललाई नगरबासीले पनि साथ दिएका छन् पुनः ५ वर्षका लागि नगरको साँचो सुम्पिएर ।

आम नागरिकको समस्यालाई ध्यानमा राख्दै खरेलले पाँचखाललाई स्मार्ट सिटिको रुपमा परिकल्पना गर्दै काम अगाडि बढाइसकेका छन् । हरेक बालकदेखि वृद्धसम्मलाई राज्यको सम्बोधन गर्ने माहौल बनाइरहेका खरेलको योजना र सोच अन्य स्थानीय तहले पनि अनुशरण गरेमा पक्कै हरेक नागरिकले राज्यबाट सुविधा पाएको अनुभव गर्ने पाउने छन् ।

प्रतिक्रिया