

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । ११ र १२ कक्षामा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा कलेजका सयोजक समेत रहेका काभ्रे घर भएका जनार्दन अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
३ जना विद्यार्थीले दिएको किटानी जाहेरीका आधारमा कलेजका संयोजकसमेत रहेका सामाजिक शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धानका लागि म्याद थपका लागि अधिकारीलाई अदालतसामु उपस्थित गराउने तयारी भएको पनि प्रहरीले जनाएको छ ।
मंगलबार बिहानदेखि कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । शिक्षक अधिकारीमाथि केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
पटक(पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

