बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (सूचीसहित)


काठमाडौं — देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार बागमती, कर्णाली र लुम्बिनी प्रदेशका धेरै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पहिरोले सडक अवरुद्ध पारेको छ। धादिङको बेनीघाट रोराङ–७ स्थित कृष्ण भिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, धादिङकै गजुरी–२ परेवा भिरमा सानो गाडी मात्र एक लेनमा सुचारु छ भने झ्यादुखोला र कमेरेभिरमा सडक एकतर्फी मात्र खुलेको छ।

नुवाकोटको बेलकोटगढी–१० सिमिटारमा बाढीका कारण पासाङल्हामु सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया–५ खाल्टेमा बाढीले गर्दा त्रिशूली मैलुङ स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको छ भने रसुवाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन्।

काठमाडौँको चन्द्रागिरि–२ चिसापानीमा पहिरोका कारण काठमाडौँ–धादिङ सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा छ। टोखा–छहरे सडक खण्डमा भने रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पामा सहिद मार्गका विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अर्घाखाँचीको पाणिनी–२ बालसिद्ध मन्दिर नजिकै पहिरो खस्दा सालझण्डी–ढोरपाटन सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ।

कर्णाली प्रदेशको मुगुमा छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो गएका कारण मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा बाढीको जोखिमका कारण सवारी सञ्चालनमा समय सीमा तोकिएको छ। साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म १० टनसम्मका सवारी मात्र चल्न पाउनेछन् भने बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म परिस्थितिको विचार गरी सवारी साधन छोडिने व्यवस्था गरिएको छ।

1

2

प्रतिक्रिया