निर्वाचन कार्यालयद्वारा झापामा नमूना मतदान अभ्यास


झापा – स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालय झापाले आज मेची क्याम्पस भद्रपुरमा नमूना मतदान अभ्यास गराएको छ । जिल्लामा पहिलोपटक गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा ३५ जना विद्यार्थी सहभागी भएका थिए।

नमूना मतदानस्थलमा जिल्लाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले निर्वाचन अधिकृतको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल सहायक मतदान अधिकृतका रूपमा रहेका थिए ।

नमूना मतदानस्थलमा मतदाताको नाम रुजु गर्नेमा आन्तरिक लेखा नियन्त्रण कार्यालयका प्रमुख मधु पोखरेलले भूमिका निर्वाह गर्नुभएको थियो । मतपत्र दिनेमा आन्तरिक राजस्व कार्यालयका प्रमुख शुभ रिजाल, कर्मचारीका रूपमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे र पूर्वाधार विकास कार्यालयका प्रमुख रमेश श्रेष्ठ रहेका थिए।

सुरक्षा निकायका प्रमुख र म्यादी प्रहरीसमेत राखेर गरिएको मतदान केन्द्रमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, महिला र पुरुषका लागि छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको थियो । निर्वाचनमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर सुरु गरिएको कार्यक्रममा निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले मतदान कुन पदमा कसरी गर्ने भन्नेबारेमा जानकारी दिएका थिए ।

राजनीतिक दलका रूपमा पनि विद्यार्थीलाई राखेर गरिएको कार्यक्रममा मतदानपछि मतपेटिकालाई सिलप्याक गरेर निर्वाचन कार्यालयमा ल्याएर गणना गरिएको थियो । मतगणनामा ३५ मध्ये पाँच मत बदर रहेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया