स्थानीय निर्वाचन २०७४: भरतपुर महानगरमा को-कति ‘पानीमा’ ?


चितवन – सरकारद्वारा घोषित स्थानीय तह निर्वाचनको अब २६ दिन र उम्मेदवारी दर्ताका लागि ७ दिनको अवधि बाँकी छ । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले स्थानीय तह निर्वाचनमा पनि गठबन्धनकै आधारमा उम्मेदवारी उठाउने निर्णय गरे पनि कतिपय जिल्ला, स्थानीय तह र वडा कार्य समितिहरुले गठबन्धन नगर्ने निर्णय गरेका छन् ।

विशेषगरी सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केही नेताबाहेक अधिकांश गठबन्धनको विरुद्ध रहेका छन् । कतिपयले पालिका र स्थानीय तहले गठबन्धन नगर्ने निर्णय नै गरेका छन् ।

गठबन्धनका कारण सबैभन्दा बढी केन्द्रबिन्दु बनेको छ भरतपुर महानगरपालिका । गठबन्धनका सबैभन्दा पक्षधर नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालकी छोरी रेणु दाहाल नगरप्रमुख रहेको भरतपुरमा पुनः दोहोर्याउने अभिलाषामा प्रचण्डले गठबन्धनका लागि देउवालाई बाध्य बनाएका छन् । देउवालाई प्रधानमन्त्री बनाउन माओवादी केन्द्रले खेलेको भूमिकालाई देखाएर प्रचण्डले भरतपुरमा छोरीलाई पुनः दोहोर्याउने योजना बनाएको रेणु दाहालकै एक अभिव्यक्तिबाट पुष्टी हुन्छ । उनले एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘भरतपुरमा म निर्विकल्प होइन, तर निर्विवाद चाहिँ हो, अन्य पार्टीका लागि भरतपुर १ नम्बर होइन, तर माओवादीका लागि १ नम्बर रोजाइ नै भरतपुर हो ।’ यसको अर्थ उनी र उनका पिताले भरतपुरकै लागि देउवासँगको गठबन्धनका लागि ढिपी कसिरहेका छन् । र देउवालाई त्यसका लागि तयार पारिसकेका छन् ।

गत स्थानीय तह निर्वाचनमा पनि देउवाकै काँध चढेर भरतपुर हत्याएको माओवादीले यसपटक पनि सोही बाटो अवलम्बन गर्नु कुनै नौलो विषय होइन । तर, बुझ्नु पर्ने कांग्रेसले हो, त्यसका लागि कांग्रेस नेतृत्व तयार छैन ।

गत स्थानीय तह निर्वाचनमा सबैभन्दा विवादित बनेको थियो भरतपुरको निर्वाचन । कारण, मतदान सकिइसकेपछि भएको मतगणनामा केही युवाले मतपत्र चपाईसकेपछि पुनः निर्वाचन गरि गरिएको मतगणनामा कांग्रेसको समर्थनमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी रेणु दाहाल विजयी भएकी थिइन् । नगरप्रमुखका लागि मात्रै सहमति भएको भरतपुरमा वडा नं. १९ को मतगणना गर्दा–गर्दै नेकपा माओवादीका प्रतिनिधिले मतपत्र चपाइदिइसकेपछि सो वडामा पुनः मतदान भएको थियो । पछि गरिएको मतदानमा उक्त वडामा माओवादीका वडाध्यक्षका उम्मेदवारले ६६ मत मात्रै प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका वडाध्यक्षले १४७८ मत ल्याउँदै विजयी भएका थिए । तर नगरप्रमुखका लागि सोही वडाको मतबाट रेणु दाहालले एमालेका देवी ज्ञवालीलाई २०३ मतले पराजित गर्दै पहिलो महिला महानगरप्रमुख बन्न सफल भएकी थिइन् ।

माओवादी केन्द्र:

भरतपुरमा रहेको जम्मा १ लाख ५१ हजार २१५ मतदातामध्ये रेणु दाहालले ४३१२७ मत ल्याउँदै जित हातपारेकी थिइन् । तर सोही महानगरको २९ वटै वडाका माओवादी तर्फका वडाअध्यक्षका उम्मेदवारहरुले २१ हजार २ सय १८ मत मात्रै ल्याएका थिए । माओवादीले भरतपुर महानगरमा प्रमुखका साथै वडा नं. १३, २५ र २६ वडाअध्यक्ष मात्र जितेको थियो । दाहालले वडाअध्यक्षहरुको कूल मतभन्दा २१ हजार ९ सय ९ मत बढी मत प्राप्त गरेकी थिइन् ।

नेपाली कांग्रेस:

नगरप्रमुखमा नेपाली कांग्रेसले माओवादीलाई साथ दिएको भरतपुरमा नेपाली कांग्रेसकी उपप्रमुख उम्मेदवारले भने ४७१९७ मत ल्याएर जित हात पारेकी थिइन् । उनले नगरप्रमुखका लागि कांग्रेसले समर्थन गरेको माओवादी केन्द्रकी उम्मेदवारले भन्दा ४ हजार ७० मत प्राप्त गरेकी थिइन् । त्यस्तै नेपाली कांग्रेसले भरतपुरका २९ वडामध्ये १, ३, ६, ७, १४, १५, १७, १८, १९, २०, २१ र २७ गरी १२ वटा वडामा जित हात पारेको थियो । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका वडाध्यक्षहरुले भरतपुरमा ३७७२५ मत प्राप्त गरेका थिए । जुन अन्य दलको उम्मेदवारले प्राप्त गरेको मत भन्दा बढी हो । नेपाली कांग्रेसकी उपप्रमुख उम्मेदवारले महानगरमा जम्मा वडाअध्यक्षहरुले प्राप्त गरेको मत भन्दा ९ हजार ४ सय ७२ मत बढी ल्याएकी थिइन् ।

नेकपा एमालेः

नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनबाट नगरप्रमुखमा २०३ मतले पराजित भएका नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२९२४ मत प्राप्त गरेका थिए । भरतपुरमा २९ वडामध्ये १४ वडामा जित हात पारेको थियो । २९ का एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३७ हजार २ सय ५ मत प्राप्त गरेका थिए । वडाध्यक्षहरुले प्राप्त गरेको मत मेयरले प्राप्त गरेको मत भन्दा ५ हजार ७ सय १९ मत कम हो ।

समग्रा चितवनमा गत स्थानीय तह निर्वाचनमा एमालेले ४ प्रमुख ५ उपप्रमुखमा जित हात पारेको थियो भने नेपाली कांग्रेसले १ प्रमुख र २ उपप्रमुखमा जित हात पारेको थियो । त्यस्तै माओवादी केन्द्रले २ प्रमुखमा जित हात पारेको थियो । चितवनका जम्मा ९८ वडाहरुमा एमालेले करिब ५५ प्रतिशत अर्थात् ५६ सिटमा जित हात पारेको थियो भने नेपाल िकांग्रेसले ३५ र माओवादी केन्द्रले ७ वडामा जित हात पारेको थियो ।

समग्रमा चितवनको तथ्यांकमा ५२१ निर्वाचित पदहरुमा नेपाली कांग्रेसले १७७ पदमा जित हात पारेको थियो भने एमालेले ३१० र माओवादीले ३३ पदमा जित हात पारेको थियो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले भने एउटा वडाध्यक्षमा पनि जित हात पार्न सकेको थिए । राप्रपाले १ वडा सदस्यबाहेक अन्य कुनै पदमा पनि जित हात पारेको थिएन ।

प्रतिक्रिया